
बागमती प्रदेशभित्रका प्रादेशिक अस्पतालहरूमा यही माघ २२ गतेदेखि बिहान ८ बजेदेखि बहिरङ्ग सेवा (ओपिडी) सुरु हुने भएको छ । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आगामी २२ गतेदेखि सबै प्रादेशिक अस्पताल बिहान ८ बजेदेखि सञ्चालन हुने जानकारी दिए ।
माघ २२ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालनसँगै प्रादेशिक अस्पतालको सेवा विस्तार गर्न थालिएको उनले बताए । थापाले सङ्घीय सरकारले देशैभरि १६ लाख किशोरी एचपिभी खोप लगाउन सुरु गरेकाले उक्त अभियान सफल पार्न सबैलाई आह्वान गरे । उनले प्रदेशभित्रका कम्तीमा एक सय शय्याका प्रादेशिक अस्पतालले नर्सिङ कलेज सञ्चालन गर्न पाउने नीति प्रदेश सरकारले पारित गरेको जानकारी दिए ।