२३ असार २०८३, मंगलबार

बागलुङमा झण्डै साढे २६ करोडको सुन्तला बिक्री

माघ १९, २०८१
बाग्लुङ
बागलुङमा झण्डै साढे २६ करोडको सुन्तला बिक्री

यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजारको सुन्तला बिक्री भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षभन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने एक करोड ८६ लाख ५४ हजार बढी परेको हो । 

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार अघिल्लो वर्ष जिल्लाभर चार हजार १०० मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष घटेर चार हजार ७१.६ मेट्रिकटनमा झरेको छ । तर अघिल्लो वर्ष न्यूनतम मूल्य ६० रहेकोमा यस वर्ष बढेर ६५ पुग्दा उत्पादन घट्दा पनि किसानले उचित मूल्य पाएको उनको भनाइ छ ।

अघिल्लो वर्ष २४ करोड ६० लाखको सुन्तला उत्पादन भएको थियो । यसपालि २६ करोड ४६ लाखको सुन्तला बिक्री भएको उनले बताए ।  

पछिल्लो समय सुन्तला खेती विस्तार हुँदै गएको भन्दै यस वर्ष समयमा वर्षा नभएको र हिउँदे सिँचाइ पनि पर्याप्त नहुँदा उत्पादनमा कमी आएको सूचना अधिकारीले बताए । कृषि ज्ञान केन्द्रले सुन्तला उत्पादन किसानलाई प्राविधिक सहयोगसहित अनुदान दिने गरेको उनी बताउँछन्।

कृषि ज्ञान केन्द्रका अनुसार ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । त्यसमध्ये यस वर्ष ३७७ हेक्टरमा लगाएका बिरुवाले उत्पादन दिएका छन् । जिल्लामा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकामा सुन्तला उत्पादन हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्