
अमेरिकाले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामग्रीमा थप भन्सार शुल्क तोक्ने तयारी गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार शुल्कको घोषणा शनिबार गर्ने तयारी गरेको सीएनएनले लेखेको छ ।
यसले अमेरिकी अर्थतन्त्रमा व्यापक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।
'म यो पुष्टि गर्न सक्छु कि भोलि फेब्रुअरी १ को समयसीमा राष्ट्रपति ट्रम्पले केही हप्ताअघि तोकेअनुसार लागू हुनेछ,' ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले शुक्रबारको ब्रिफिङमा भनिन्।
ह्वाइट हाउसको यस घोषणाले ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा गरेका भन्सार शुल्कसम्बन्धी वाचा पूरा गर्न लागेको पुष्टि गरेको छ ।
लेविटका अनुसार, मेक्सिको र क्यानडामाथि २५% तथा चीनमाथि १०% भन्सार शुल्क लगाइनेछ ।
उनले भनिन्, 'चीनले गैरकानुनी रूपमा उत्पादन गरेको फेन्टानिल आपूर्ति गर्न अनुमति दिएको छ, जसले लाखौं अमेरिकीहरूलाई मारेको छ।'
तर, उनले भन्सार शुल्कको विस्तृत कार्यान्वयनबारे स्पष्ट जानकारी दिइनन्।
ट्रम्पले चाँडै नै चिप्स, तेल, ग्यास, स्टिल, एल्युमिनियम र तामा (कपर) मा पनि भन्सार लगाउने जनाएका छन् ।
ट्रम्पले यसअघि नै क्यानडा र मेक्सिकोसँग अमेरिका निर्भर नरहेको बताएका थिए। उनले भनेका थिए, 'हामीलाई उनीहरूबाट केही आवश्यक छैन।'