
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ ।
आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण उनको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरीले बताए ।
राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए ।
उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरीले बताए ।
३७ वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् ।
राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित भएका थिए ।