
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कीवास जङ्गलमा बस र ईभी हाइस एक-आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासस्थित डिभिजन वन कार्यालय नजिकै यात्रु बस र ईभी हाइस एक-आपसमा ठोक्किँदा भारतको पश्चिम बङ्गाल राज्यको मिधिनिपुरका ४० वर्षीय शङ्करको मृत्यु भएको हो ।
हाइसमा सवार अन्य नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
काठमाडौंबाट दाङ जाँदै गरेको रा १ ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको ईभी हाइस एक-आपसमा ठोक्किएका हुन् ।
हाइसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।