
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकका समस्या समाधान गर्न नै अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले मुलुकका समस्या तोड्न सरकारले सशक्त पहल गरेको बताए ।
'सरकारले यो कदम मुलुकका समस्याको गतिरोध तोड्नका निम्ति गरेको एउटा सशक्त पहल हो,' उनले भने, 'यसका सकारात्मक नतिजा क्रमशः आउन थालेका छन् ।' अध्यादेशका फरक–फरक विषय राम्रोसँग अध्ययन र छलफल गरेर आम नागरिकबीच वास्तविकता सूचना पुर्याउन उनले सञ्चारकर्मीलाई आग्रह गरे ।
वर्तमान सरकारले राम्रो काम गरेको भन्ने विषयमा गठबन्धन दलका प्रमुख पार्टी नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएको पौडेलले बताए । अहिले सरकार ढल्छ भन्ने विषय कम सुनिन थालेको उनको भनाइ थियो । 'जसको सरकार ढाल्ने शक्ति हुँदैन उसले सरकार ढल्छ भन्दै हिँड्ने हो,' उनले भने ।
वर्तमान सरकारले निक्कै अप्ठ्यारो परिस्थितिमा जिम्मेवारी लिएको र अहिले मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक दिशातर्फ यात्रा अगाडि बढाइरहेको उनले बताए । 'सरकार अब सकारात्मक दिशातर्फ अगाडि बढेको छ, यो गतिलाई तीव्रता दिँदै मुलुकलाई ओरालो लाग्ने अवस्थालाई रोकेर, क्रमशः गति बढाउने अवस्थामा पुगेका छौं,' उनले भने, 'आम नागरिकमा विश्वास र भरोसा जगाउन सक्छौँ, देश बन्छ र मेरो भविष्य बन्छ भन्ने विश्वास जगाउन सक्छौँ र त्यसखालको अनुकूल आधार निर्माण गर्न सक्छौं भन्ने विश्वास छ ।'
उनले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा संविधानले दिएका नागरिकका हक, वाक तथा प्रेस स्वतन्त्रताकाविरुद्ध सरकार उभियो कि भन्ने आम रूपमा भ्रम फैल्याउने काम भएको बताए । अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाललाई नियमनसम्बन्धी विधेयक वाक् तथा स्वतन्त्रताविरुद्ध नभएको स्पष्ट पारे ।