०८ साउन २०८३, शुक्रबार
देउवाको विश्वास

मतभेद बिर्सेर एकता भए कांग्रेसले यही प्रणालीमा पनि बहुमत ल्याउन सक्छ– देउवा

माघ २१, २०८१
काठमाडौं
मतभेद बिर्सेर एकता भए कांग्रेसले यही प्रणालीमा पनि बहुमत ल्याउन सक्छ– देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद अन्त्य गरेर एकता भएमा यही प्रणालीमा पनि पार्टीले बहुमत ल्याउन सक्ने दाबी गरेका छन् । आन्दोलनमार्फत नेपालमा स्थापित व्यवस्था उत्कृष्ट भएको उनले दाबी गरे ।

कास्कीको पोखरामा कांग्रेस गण्डकी प्रदेशले सोमबार आयोजना गरेको कार्यक्रममा देउवाले एकढिक्का भएको खण्डमा यही प्रणालीअनुसार पनि बहुमत ल्याउन सकिने बताएका हुन् । ‘संविधानमा बहुमत प्राप्त गर्न त्यति सजिलो छैन, आफूलाई मतभेद बिर्सेर एकता भएको खण्डमा कांग्रेसले बहुमत प्राप्त गर्न सक्दछ,’ देउवाले भने ।

अहिलेको मिश्रित प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन मुस्किल पर्ने भनेर पार्टीभित्रै निर्वाचन प्रणाली फेर्नेबारे बहस भइरहेको बेला देउवाले यही प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताएका हुन् ।

पार्टीका संस्थापन बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायतले सुम्पेको जिम्मेवारी पूरा गर्न पार्टीमा एकता जरुरी रहेको उनले बताए । ‘सबैलाई साथमा लिएर हिँड्न जरुरी छ । अहिलेका चुनौती सामना गर्नका लागि एक हुन जरुरी छ,’ देउवाले भने ।

सभापति देउवाले नेपालको संविधान समावेशी रहेकोले यसलाई समुन्नत बनाउनु पर्ने बताए । ‘देशको संविधान र राजनीति पनि समावेशी छ । समानुपातिक व्यवस्था छ । सबैलाई प्रतिनिधित्व हुने काम संविधानले गरेको छ । हाम्रोमा जस्तो कुनै पनि देशमा समावेशी राजनीति छैन । हामीले उत्तम व्यवस्था स्थापित गरेका छौं,’ देउवाले भने ।

salt training

कमेन्ट गर्नुहोस्