
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनमा सुधार गर्नुपर्ने जोड दिएका छन् । उनले सरकारले बजेट खर्च गर्न नसकेको भन्दै प्रश्न समेत उठाए ।
सोमबार कर्णाली प्रदेशसभाको सातौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
जोशीले असारमा विकास बजेट खर्च न्यून भएको समाचार सुन्दै आइरहेको बताउँदै अब बजेट कार्यान्वयनमा तदारुकता देखाउनुपर्नेमा जोड दिए ।
‘म कर्णाली सरकारका पदाधिकारीदेखि कर्मचारीलाई प्रश्न गर्छु, बजेट खर्च किन हुन सक्दैन ?’, उनले थपे, ‘अझै समय छ तपाईंहरूले सोच्नुहोस् । असारमा त्यस्तै समाचार सुन्न नपरोस् ।’
भएको बजेट राम्रोसँग कार्यान्वयन गरेको खण्डमा कर्णालीमा धेरै विकास हुने भएकाले गम्भीर भएर सोच्न प्रदेश प्रमुख जोशीले आग्रह गरे ।
कर्मचारीले दत्तचित्त भएर काम गर्न सुझाव उनको छ । साथै, कर्णालीको विकासमा सबै दलहरू एकजुट भए अघि बढ्न जोशीले आग्रह गरे ।
‘पहिलो प्रदेशसभामा अभावको कर्णालीलाई सम्पन्न कर्णाली बनाउने सबैले वाचा गर्नुभयो, आज ७ वर्ष बित्दा हामी कहाँ पुग्यौं ?, छलफलको विषय बन्छ’, जोशीले थपे, ‘यो विषयमा समीक्षा गर्नुहोस्, केही नभएको त होइन तर, जसरी हुनुपर्थ्यो त्यसरी कामहरू हुन सकेका छैनन् ।’