०६ साउन २०८३, बुधबार

कांग्रेस–एमाले सरकारले ढुक्कसँग काम गर्छ, नतिजा दिनेगरी अघि बढेको छ : पौडेल

माघ २१, २०८१
बुटवल
कांग्रेस–एमाले सरकारले ढुक्कसँग काम गर्छ, नतिजा दिनेगरी अघि बढेको छ : पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन नहुने स्पष्ट पारेका छन् ।

वर्तमान सरकार दिन बिताउन नभई देश बनाउनका लागि बनेको दाबी गर्दै अर्थमन्त्री पौडेलले सरकार विकास र सुशासनमा केन्द्रित रहेको बताए ।​

रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर माविको हीरक महोत्सवको सोमबार उद्‌घाटन गर्दै नेता पौडेलले विगतका सरकारले गरेका बेथितिलाई पन्छाउँदै नागरिकका निराशालाई आशामा बदलेर भौतिक र मानवीय विकासमा केन्द्रित भएको बताए ।

‘देश बनाउने ‘भिजनरी’ नेता प्रधानमन्त्री केपी ओली हुनुहुन्छ,’ पौडेलले भने, ‘उहाँ (ओली) दुनियाँका सक्षम नेतामध्येमा पर्नुहुन्छ, ओली जस्तोसुकै परीक्षा उत्तीर्ण गरेको ‘टेस्टेड लिडर’ हुनुहुन्छ । यस्तो नेताको नेतृत्वमा बनेको सरकारले ढुक्कसँग चल्छ । परिणाम दिनेगरी काम गर्दै अघि बढेको छ ।’

दुई ठूला शक्ति नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार देशमा राजनीतिक स्थायित्व दिँदै परिणाममुखी काममा केन्द्रित भएर अघि बढेको पौडेलको भनाइ छ । 

एमाले उपाध्यक्षसमेत रहेका नेता पौडेलले प्रगतिका केही बाधक कानून संशोधन गर्नका लागि सरकारले अध्यादेश ल्याएको बताए । ‘अध्यादेशबाट निजी क्षेत्र पनि उत्साहित छ, सबै क्षेत्रबाट काम गर्नका लागि आएका अध्यादेशको सकारात्मक प्रतिक्रिया आएका छन् । यसबाट कसैलाई पनि अप्ठ्यारो पार्ने छैन,’ पौडेलले भने ।

रुपन्देहीको विकासका लागि बजेटको कुनै अभाव हुन नदिने बताउँदै पौडेलले त्यसको लागि योजना र भिजन ल्याउन आग्रह समेत गरे । 

 

कमेन्ट गर्नुहोस्