लिबाङ (रोल्पा), ५ माघ - रोल्पा जिल्लामा यस आवमा मात्र १० वटा थप नयाँ झोलुङ्गे पुलको निर्माण कार्य थालिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाले जनाएको छ ।
यस अन्तर्गत जेदबाङ–१ र खुङ्ग्री–९ जोड्ने लाल्टीबाङमा, जङ्कोट–३ र ह्वामा–२ जोड्ने ग्वालातुपमा, राङसी–४ र भाबाङ–३ जोड्ने दोमइखोलामा, राँक–५ र राँक–४ जोड्ने वर्मथानमा, राङ्सी–२ र धबाङ–५ जोड्ने रेतीबली, ओत– ६ र ओत–८ जोड्ने गोठीखोला, ओत–५ र तालाबाङ–१ जोड्ने हलङसेरा, सीर्प–७ स्थित सुर्खे खोलामा सुर्केखोला, तालाबाङ–८ र भाबाङ–६ जोड्ने माडीखोलास्थित पीपलबोट ट्रस तथा धबाङ–६ र धबाङ–९ जोड्ने धबाङ ट्रस पुलको नयाँ निर्माण कार्य थालिएको हो ।
यी पुल झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) अन्तर्गत जिल्ला विकास समितिमार्फत सहयोगी संस्था विकास सरोकार समाज (डिकोस) रोल्पाको प्राविधिक तथा सामाजिक सहयोगमा निर्माण गर्न लागिएको जिल्ला प्राविधिक कार्यालय रोल्पाका सव इन्जिनियर करुणप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार यी सम्पूर्ण पुलको निर्माण कार्य सम्पन्न गर्नका लागि रु एक करोड ८० लाख, ७० हजार विनियोजन गरिएको छ ।