२५ जेठ २०८३, सोमबार

९७१ बालबालिका काठमाडौंका सामुदायिक विद्यालयमा भर्ना

माघ २२, २०८१
काठमाडौं
९७१ बालबालिका काठमाडौंका सामुदायिक विद्यालयमा भर्ना

काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा एकै दिन ९७१ जना बालबालिका भर्ना भएका छन् । माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षा (इसीडी)मा भर्ना भएको महानगरले जनाएको छ । 

बालविकास कक्षमा भर्ना हुनेमा ५३२ जना छात्रा र ४३९ छात्र रहेका छन् । कन्या माध्यमिक विद्यालय न्होखामा सबैभन्दा धेरै विद्यार्थी भर्ना भएका छन् । कन्यामा ६५ जना छात्रा भर्ना भएका हुन् । 

ज्ञानोदय माध्यमिक विद्यालय, बाफलमा ६० जना, जनपथ माध्यमिक विद्यालय, कलंकीमा ४२ जना, कुलेश्वर माध्यमिक विद्यालय, कुलेश्वरमा ४१ जना विद्यार्थी भर्ना भएको महानगरले जनाएको छ । यस्तै, नीलवाराही माध्यमिक विद्यालय, टंकेश्वर, सरस्वती निकेतन माध्यमिक विद्यालय, व्रह्मटोल, सितला माध्यमिक विद्यालय, बालाजुमा ४०/४० बालबालिका भर्ना भएका छन् । 

प्रारम्भिक बाल विकास कक्षामा बाल केन्द्रित सिकाइको स्तर वृद्धि गर्न महानगरले काठमाडौं विश्वविद्यालयसँगको स्कूल टिच प्रोग्रामअन्तर्गत पूर्वाधार, उपलब्धता, उपलब्ध सामग्रीको प्रयोग, शिक्षकको क्षमता लगायत कोणबाट अध्ययन गरेको थियो । 

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार अध्ययनले देखाएको आवश्यकता पूर्ति गर्दै बाल बिकासका कक्षाको स्तर वृद्धिमा काम भइरहेको छ । यसअन्तर्गत विद्यार्थीको संख्या, उपलब्ध स्थानलगायत स्थानको आधारमा ८१ वटा विद्यालयका प्रारम्भिक बाल विकास कक्षामा शिक्षण सिकाइ सामग्रीका लागि ८ करोड ६५ लाख रुपैयाँ पठाइएको छ । 

यस्तै शिक्षकलाई २ चरणमा ४८ घण्टे तालिम प्रदान गरिएको छ । यसपछि आया र इसीडीका अतिरिक्त सहजकर्ता पठाउने तयारी छ ।

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा छन् । 

salt training

कमेन्ट गर्नुहोस्