
पाथीभरा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित हुने भएको छ । सरकार र आन्दोलनरत पक्षबिच मंगलबार भएको वार्तामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो । स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति समेत भएको छ ।
ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विरोध गर्दै आएको छ ।
यस विषयमा द्वन्द्व समेत भइरहेको अवस्थामा गृह मन्त्रालयबाट गठित वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समिति बीच भएको छलफलबाट ६ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार यस विषयमा भएको आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार तथा माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही हुने भएको छ ।
