
तपाईं चकलेट कत्तिको खानुहुन्छ ? पक्कै पनि खाने गर्नुभएको हो । सामान्यतया चकलेट खाँदा स्वास्थ्यलाई असर हुन्छ भन्ने आम बुझाइ छ । तर, त्यसो होइन । सही समय र सही तरिकाले चकलेट खानुभयो भने यसले तपाईंलाई फाइदा गर्नेछ ।
तपाईंलाई अर्को कुरा पनि याद होला भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन अर्थात् फेब्रुअरी ९ मा चकलेट डे मनाइन्छ। चकलेटको मिठासलाई सम्बन्धको गाढापनको प्रतीक पनि मानिन्छ। जसले प्रेम र आत्मीयता बढाउँछ।
तर, चकलेट केवल मुटुको स्वास्थ्यका लागि मात्र लाभदायीक छैन, यो मस्तिष्क तथा छालाका लागि पनि उपयोगी हुन्छ। चकलेटका यस्ता फाइदा थाहा पाएपछि सिंगलहरू पनि चकलेट डे मनाउन चाहनेछन्।
चकलेट स्वादिष्ठ मात्र होइन, यसमा थुप्रै स्वास्थ्यवर्द्धक गुणहरू हुन्छन्। तर, यसको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। चकलेट स्वास्थ्यका लागि फाइदाजनक भए पनि, सही मात्रामा र सही प्रकारको चकलेट उपभोग गर्नुपर्छ।
डार्क चकलेट स्वास्थ्यका लागि सबैभन्दा राम्रो मानिन्छ, भने चिनी बढी भएको चकलेटबाट बच्नुपर्छ। यदि सन्तुलित रूपमा चकलेट खाइयो भने मुटु, मस्तिष्क, छाला र समग्र स्वास्थ्यका लागि लाभदायी हुन सक्छ। आउनुहोस्, चकलेट सेवनका सही तरिका र यसका फाइदा तथा हानिबारे जानकारी लिऔं :
चकलेट खानुका फाइदा :
मुटुको स्वास्थ्यका लागि फाइदाजनक
डार्क चकलेटमा फ्लेभोनोइड्स र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले मुटु स्वस्थ राख्न मद्दत गर्छ। यसमा पाइने फ्लेभनोल्सले शरीरमा नाइट्रिक अक्साइडको उत्पादन बढाउँछ, जसले रक्त नलीहरूलाई सहज बनाउँछ र रक्त प्रवाहलाई सुधार गर्न मद्दत गर्छ। यसकारण उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।

मूड सुधार्न सहयोगी
चकलेटले सेरोटोनिन र डोपामिन हर्मोन बढाउने भएकाले तनाव र डिप्रेसन कम गर्न मद्दत गर्छ। डार्क चकलेटले मष्तिष्कको कार्यक्षमता सुधार गर्न सक्छ। अनुसन्धान अनुसार, पाँच दिनसम्म डार्क चकलेट खाँदा मष्तिष्कमा रक्त प्रवाह सुधार हुने देखिएको छ।
प्रतिरोधी क्षमता र पाचन सुधारमा मद्दत
चकलेटमा पाइने फाइबर र खनिज पदार्थहरूले पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ।
छाला र कपालका लागि लाभदायी
डार्क चकलेटमा रहेको एन्टिअक्सिडेन्टले छालालाई यूभी किरणबाट जोगाउँछ र यसलाई जवान राख्छ। यसले छालामा रक्त प्रवाह बढाउन मद्दत गर्छ, जसले छालालाई चम्किलो बनाउँछ।
साथै, यसमा रहेको बायोएक्टिभ कम्पाउण्डहरूले छालालाई हाइड्रेट राख्छ। चकलेटले कपाललाई पोषण प्रदान गरी बलियो र चम्किलो बनाउँछ।
तौल घटाउन सहयोगी
सही मात्रामा डार्क चकलेट खाँदा मेटाबोलिज्म सुधार हुन्छ, जसले लामो समयसम्म भोक महसुस हुन दिँदैन। यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ।

चकलेट खानुका बेफाइदा पनि छन् । ती के के हुन् त ?
अत्यधिक सेवनले तौल बढ्न सक्छ
डार्क चकलेट सन्तुलित मात्रामा खाँदा तौल नियन्त्रण गर्न मद्दत गर्छ, तर चिनी धेरै भएको चकलेटले तौल बढाउन सक्छ। मिल्क चकलेट र ह्वाइट चकलेटमा बढी चिनी हुने कारणले मोटोपन बढ्न सक्छ।
रक्तचाप र मधुमेहको समस्या हुन सक्छ
बढी चिनी भएको चकलेट खानाले रक्तचाप बढ्न सक्छ, जसले मधुमेह र मुटुसम्बन्धी रोगको खतरा बढाउँछ।
माइग्रेन हुन सक्छ
केही मानिसहरूमा चकलेटमा हुने क्याफिन वा थियोब्रोमाइनका कारण माइग्रेन हुन सक्छ।
एसिडिटी र पेटमा जलन हुन सक्छ
धेरै मात्रामा चकलेट खाँदा अम्लीयपन (एसिडिटी) बढ्न सक्छ, जसले गर्दा पेट पोल्ने समस्या हुन सक्छ।
बालबालिकामा दाँतको समस्या र हाइपरएक्टिभिटी
बच्चाहरूलाई बढी चिनी भएको चकलेट खुवाउँदा दाँत बिग्रन सक्छ र उनीहरू हाइपरएक्टिभ हुन सक्छन्।

चकलेट खाने सही तरिका
बिहान वा दिउँसो हल्का मात्रामा चकलेट खानु राम्रो हुन्छ। राति धेरै चकलेट खानाले अनिद्राको समस्या हुन सक्छ, किनभने चकलेटमा क्याफिन पाइन्छ।
३०-५० ग्राम डार्क चकलेट दैनिक रूपमा खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। बढी मात्रामा खानु हानिकारक हुन सक्छ, विशेष गरी चिनी र बोसो धेरै भएको चकलेट खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।