
करिब ६ वर्षपछि नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि अनुमतिपत्रको प्रक्रिया पुन: शुरू गरेको छ ।
बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि अनुमतिपत्रको प्रक्रिया पुनः शुरू गरेको जानकारी दिएको हो ।
बोर्डले २०७५ साउन ८ गते मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो । जसलाई पुनः प्रारम्भ गरेको छ ।
‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०६७ बमोजिम मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेसन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य हाल पुनः प्रारम्भ गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया पुनः शुरू भएपछि पुँजी बजारमा थप प्रतिस्पर्धा र सुधार ल्याउने अपेक्षा गरिएको छ।