
प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सामा सात लाखसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विन्दावासिनी गाउँपालिका-३ झौवाका ४३ वर्षीय अजय कुमार साह रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार दिउँसो करिब २ बजेतिर वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित ग्लोबल आईएमई बैंक नजिकबाट साहलाई पक्राउ गरिएको डीएसपी किशोर लम्सालले जानकारी दिए ।
साहलाई शंका लागि चेकजाँच गर्दा उनले लगाएको सेतो ट्रयाक्सुटको दुबै साइडको खल्तीमा लुकाइ छिपाई राखिएको नेपाली एक हजार दरका नोट सात थान बरामद भएको डीएसपी लम्सालले बताए ।
उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुन्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको छ ।
उनलाई यसअघि गत वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।