
मगु, ५ मंसिर – मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने ग्रामिण क्षेत्रका जेष्ठ नागरिकहरु उत्साहित देखिएका छन् ।
उनीहरूसँग ०३६ सालको निर्वाचनबाटै आफूले मतदान गरेको अनुभव छ । छायाँनाथ रारा नगरपालिका ३ का ७६ वर्षीय मोतिसिंह खड्काले बताए । उनी मंसिर १० को प्रतिनिधी सभा र प्रदेश सभा चुनावमा भोट हाल्न आतुर र उत्साहित भएको सुनाउँछन् ।
खड्का भन्छन् ‘सकी नसकी लठ्ठी टेकेर पार्टीको कार्यक्रम हेर्न आएको छु । अहिले पनि चुनाव भने पछि जोस चल्छ तर बुढेसकालमा हिड्न सकिन्न ।’
खड्काले आफूले सक्ने भए मन परेको दलको प्रचारमै उत्रने समेत बताउँछन् । उनले आफूलाई पञ्चायती शासन भन्दा अहिलेकै शासन राम्रो लाग्ने गरेको समेत सुनाए ।
‘अहिले त आफूले रोजेको पार्टीमा इच्छा अनुसार भोट हाल्न पाइन्छ । मलाई आज भोलिका चुनावमा भोट हाल्न पनि सजिलो लाग्छ । पञ्चायतकोवेला शासन कडा हुन्थ्यो, आफूले रोजे खोजे अनुसार मत हाल्न पाइँदैनथ्यो ।’
सुरुमा टोपीमा भोट खसालेको र त्यसपछि टिनका बट्टामा भोट हालेको खड्काले सुनाए । त्यसपछि गाग्री हुँदै फलामको मत पेटिकामा मत खसालेको उनको अनुभव छ । २०७० सालमा आइपुग्ला प्लाष्टिकको मतपेटिकामा मत खसाल्दा आफूलाई अनौठो लागेको खत्याड गाउँपालिका वडा नं. ३ का ७० बर्षिय सिउराम बानियाँले वताए ।
निरदल, बौदल, प्रधान पञ्च, जिल्ला सदस्य, गाउँफर्क सदस्य, माननीय, बौदल पछि सांसद, गाविस अध्यक्ष, संविधानसभा सदस्य, र अहिले पालिकाका प्रमुखदेखि सबै पदमा भोट हालेको अनुभव बानियाँसँग छ ।
आफूले पञ्चायतकाल देखिका सबै चुनावमा भोट हाल्दै आएको र अहिले बुढेसकालमा भएपनि नयाँ संरचनाको चुनावमा भोटहाल्न पाइनेमा बानियाँले खुशी व्यक्त गरे ।
पञ्च्यातदेखि लोकतन्त्र सम्मका सबै चुनावमा भोट हालेको अनुभव खत्याड गाउँपालिकाका वडा नं. ९ का ७४ बर्षिया सुनाम डाँगरले बताए । उनी भन्छन् ‘नयाँ खालको चुनावमा सकी–नसकी लठ्ठी टेकेर भएपनि मतदान गर्न जाने हो । मलाई पञ्चायतकालको चुनावमा भन्दा अहिलेको चुनावमा भोट हाल्न सजिलो लाग्छ ।’
अर्का छायाँनाथ १ का ६६ बर्षीय ज्ञान बहादुर मल्लले आफूले पनि ०३६ सालदेखिका सवै चुनावमा भोट हाल्दै आएको सुनाए । उनले त्यो बेलाको सेना पुलिसको शासनको समेत स्मरण गरे ।
‘मनले चाहेर कुनै पार्टी भन्न नमिल्ने अवस्था थियो । यो समयका चुनावमा आफ्नो मनले रोजेको पार्टी रोजेको मान्छेलाई सजिलै भोट हाल्न पाइन्छ, खुल्ला प्रचार गर्न मिल्छ । त्यसैले आफूलाई अहिलेको शासन राम्रो लाग्छ,’ मल्लले थपे ।
यतिबेला गाउँ वस्तीहरुका बुढा पाकाहरुमा चुनावी उत्साह छाएको छ । हरेकमा चुनावी जोड, घटाउ र भागको हिसाव किताब चल्ने गर्छ । फलानोले जित्ने, फलानोले हार्ने भनेर अनेक अडकलबाजीहरु हुन थालेका छन् । चुनावी उत्साह निकै बढ्दै गएको छ । २÷४ जनाको भेट हुनासाथ चुनावी हिसाव किताब चल्ने गरेको देखिन्छ ।
जिल्लाका विभिन्न भेगमा दलहरूले चुनाव प्रचार प्रसारलाई समेत तीव्र बनाएका छन् । यता जिल्ला निर्वाचन कार्यालयले पनि कर्मचारी छनोट, कर्मचारी तालीम, मत पत्र रुजु जस्ता सम्पूर्ण प्रक्रियाहरु पुरा गरिसकेको छ ।
निर्वाचनका सम्पूर्ण क्रियाकलाप अन्तिम चरणमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले जानकारी गराए ।
यतिवेला ग्रामिण क्षेत्रतिर सर्वसाधारणमा चुनावको माहोल निकै बढेको छ । बृद्ध, बृद्धा, युवा युवतीहरु चुनाव प्रति उत्साहित देखिएका छन् ।