
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा तेह्रथूमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए ।
००००
रास्वपा सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइने भएको छ । सहकारी ठगी प्रकरणमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई बुधबार जिल्ला अदालत चितवनले प्रहरीको जिम्मा लगाएको थियो ।
थुनछेक बहस नसकिएकाले आज फेरि अदालतमा उपस्थित गराउन लागिएको हो । न्यायाधीश दयाराम ढकालको इजलासले रविलाई प्रहरीको जिम्मा लगाएको थियो ।
००००
नेकपा एमाले दाङले घोराही उपमहानगरपालिका–८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई कारबाही गरेको छ ।
एमाले जिल्ला कमिटी दाङको बुधबार सम्पन्न बैठकले २०७९ को आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित वडा अध्यक्ष शाहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए । पार्टी विरोधी गतिविधि गरेकाले पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको उपाध्यक्ष मनोहर बुढाथोकीले बताए ।
००००
संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्ने छ ।
दुवै बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । दुवै सभाले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची राखेका छन् ।
००००
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडीको पुरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेका छन् ।
यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संशोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको सतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।
००००
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले त्यहाँका राष्ट्रपति आइज्याक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् ।
उनले बुधबार दिउँसो राष्ट्रपति हर्जोगसँग टेलिफोन वार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस क्रममा राजदूत पण्डितले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहल गर्न आग्रह गरे ।
००००
नेपाल वायु सेवा निगम भित्र प्रवेश गरेर महाप्रबन्धक बन्ने भन्दै हवाई उड्डयन क्षेत्रमा कुनै अनुभव नभएका व्यक्तिहरूको चलखेल बढेको छ । कांग्रेसका प्रभावशाली नेताको नाम लिँदै निगमको महाप्रबन्धक बन्नका लागि उड्डयन क्षेत्रभन्दा असम्बन्धित क्षेत्रका व्यक्तिहरूको चलखेल शुरू भएको हो ।
प्रेम आले पर्यटनमन्त्री बनेको समयदेखि चलखेलमा सक्रिय मनोज भारती नामका व्यक्ति अहिले फेरि निगमको नेतृत्व सम्हाल्न जाने भन्दै हिँडिरहेका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको समयमा पनि भारतीले चलखेल गरेका थिए । भारतीले दिएको आर्थिक प्रलोभनको प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र हितबहादुर तामाङले सुनेनन् ।
हवाई व्यवस्थापन क्षेत्रमा उनीले सीता एयरमा कार्गो व्यवस्थापन गर्न ३ तहको जागिर खाएका थिए ।
००००
सरकारले संसद्मा पेश गरेका अध्यादेश अनुमोदनका विषयलाई लिएर सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग बुधबार छलफल गरेका छन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अङ्कले घटेको छ ।
बुधवार नेप्से परिसूचक ४.४५ अङ्कले घटेर २७११।४५ को विन्दुमा बन्द भएको हो । बुधबार १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।
००००
जिल्ला सरकारी वकिल कार्यालय चितवनबाट महान्यायाधिवक्ता कार्यालय तानिएका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
महान्यायाधिवक्ता कार्यालयले मंगलबार नायब महान्यायाधिवक्ता गोपाल रिजालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो । लुइँटेल बुधबार नै चितवनबाट महान्यायाधिवक्ता कार्यालय तानिएका थिए ।