१२ असार २०८३, शुक्रबार

संसद्‌मा गगनले भने– सदनमा सरकारका कामबारे सुन्न र छलफल गर्न चाहन्छौं

माघ २४, २०८१
काठमाडौं
संसद्‌मा गगनले भने– सदनमा सरकारका कामबारे सुन्न र छलफल गर्न चाहन्छौं
फाइल तस्वीर ।

नेपाली कांग्रेसका सांसद गगन थापाले जाजरकोट भूकम्प र असोजको बाढी पहिरोपछि सरकारले गरेको कामको विषयमा प्रश्न उठाएका छन् । 

सत्तारुढ दलका सांसदसमेत रहेका थापाले बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सरकारले आवश्यक स्रोत जुटाउन गरिरहेको कामबारे छलफल र बहस हुनुपर्ने बताएका हुन् ।
 
‘जाजरकोटको भूकम्पबाट ९२ हजार घरको पुनर्निर्माणको आकलन गरिएको थियो । पुनर्निर्माण धेरै परको कुरा । पीडितले दोस्रो किस्तासमेत पाएनन् । उदेकलाग्दो कुरा डीडीए भर्खरमात्रै भएको छ । असोजका बाढीले भत्किएका बगेका घरको अस्थायी आवास निर्माण मंसिर ७ भित्र भनेर राष्ट्रिय विपद समितिले घोषणा गर्‍यो’, थापाले भने,  ‘पहिलो किस्ताको अनुदानसमेत कतिले नपाएको स्थिति छ । ४१ वटा सडक खण्डको पुनर्निर्माण गर्नका लागि २५ अर्ब चाहिन्छ ।’ 

थापाले यसरी हेर्दा एक खर्ब चाहिन्छ । सरकारले बजेटमा जम्मा २१ अर्ब छुट्याएको थापाले बताए । पैसा कहाँबाट ल्याउने भनेर सरकारले नसोचेको उनको टिप्पणी छ ।

‘वर्षाको बेला बाटो कसरी बन्छ ? जाजरकोटको भूकम्प, असोजको बाढी यसको बारेमा गरिएका काम, भइरहेका कुराहरू स्रोतहरू कसरी जुटाउने सोचिएको छ ?’, थापाले भने, ‘यी सबै कुराको बारेमा सदनलाई जानकारी गराइयोस् । हामी सुन्न पनि चाहन्छौं । छलफलमा भाग पनि लिन चाहन्छौं ।’ 

salt training

कमेन्ट गर्नुहोस्