
राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ । सरकारले सबै खालका साधन तथा स्रोत उपलब्ध गराएको भए पनि आयोजनाको प्रगति अपेक्षित हुन नसकेको हो ।
कूल २७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आर्थिक वर्षमा १९ वटा आयोजनाका लागि जम्मा ६६ अर्ब ७५ करोड तीन लाख विनियोजन गरिएको थियो । गत पुस मसान्तसम्मको अवधिमा जम्मा १७ अर्ब १५ करोड ३२ लाख खर्च भएको छ । जसअनुसार राष्ट्रिय गौरवका आयोजनाको समीक्षा अवधिमा २५ दशमलव ७० प्रतिशत खर्च भएको छ ।
आर्थिक वर्ष २०६८/६९ को सुरूमा १७ वटा राष्ट्रिय गौरवका आयोजना पहिचान गरिएकामा नेपाल सरकारले आवश्यकता र औचित्यताको आधारमा क्रमागत तथा नयाँ आयोजनालाई समेत समावेश गरेको थियो । त्यस्ता आयोजनाको सङ्ख्या विस्तारगरी २७ वटा पुगेकामा सम्पन्न भइसकेका र कार्य प्रारम्भ नभएका बाहेक आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा १९ आयोजना कार्यान्वयनमा छन् ।
आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय गौरवका आयोजनाको लागि रू ६० अर्ब ३८ करोड ७१ लाख खुद बजेट विनियोजन गरिएकामा ५४ अर्ब २४ करोड आठ लाख खर्च भई वित्तीय प्रगति ८९ दशमलव ८२ प्रतिशत र भौतिक प्रगति ५७ दशमलव ५० प्रतिशत भएको अर्थमन्त्रालयले जनाएको छ ।