
धादिङको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ सेन्टर भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
संविधानसभा सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर सुश्री गीताञ्जली ब्रान्डनले आज संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोगमा बन्न लागेको हो । भवन शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत रहेको भारत सरकारको अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को रूपमा लिइएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये बागमती प्रदेशमा १०८ वटा परियोजना रहेका छन् ।
यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।
त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र ३ वटा स्कूल बस उपहार स्वरूप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको दूतावासले जनाएको जनाएको छ ।