
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् ।
प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को आज उद्घाटन गर्दै उनले सरकारले किसानको हितका लागि पहिलो पटक कृषि ऐन ल्याउन लागेको जानकारी दिए । 'केही दिनभित्र ऐनलाई मन्त्रिपरिषद्बाट पारित गरेर संसद्मा लैजाने तयारी मन्त्रालयको छ,' उनले भने ।
उनले कृषकलाई ऐनमा समावेश गर्नुपर्ने सुझाव दिनसमेत आग्रह गरे । कृषि ऐन बनेसँगै किसानका समस्या समाधानका लागि सहज हुने उनको भनाइ छ । उनले भने, 'ऐन बनिसकेपछि नेपाली किसान पनि निर्यात गर्ने क्षमतामा पुग्ने छन् ।'
पछिल्लो समय दुग्ध उत्पादक किसानले भुक्तानी नपाएको विषयमा उनले भने, 'हामीले ज–जसलाई विश्वास गरेर जिम्मेवारी सुम्पियौं त्यही ठाउँबाट इमान्दारिताका साथ काम हुन नसक्दा समस्या भयो, दूधको पैसा भुक्तानी नभएकोमा लज्जित छु । किसानसँग रु ६५ मा उधारो किन्ने र रु एक सयमा बेचेर किसानलाई पैसा नदिने यो हुन सक्दैन ।'
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयकी उपकुलपति शारदा थपलियालगायतले कृषि क्षेत्रले भोग्नुपरेका समस्या र समाधानमा राज्यको भूमिकाबारे आफ्नो भनाइ राखेका थिए ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र चितवन उद्योग सङ्घ चितवनको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम राष्ट्रिय डेरी एक्स्पो तीन दिनसम्म चल्नेछ ।
चितवन उद्योग सङ्घका कार्यवाहक अध्यक्ष मदन घिमिरेले पहिलोपटक राष्ट्रिय डेरी एक्स्पो गरिएकाले यसले दुग्ध उत्पादक किसानलाई फाइदा पुग्ने बताए ।
७० वटा दूध र दुग्धजन्य उत्पादनको प्रदर्शनी कक्ष रहेको सो एक्स्पोको ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।