२८ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

श्रीमान् अष्ट्रेलियामा–श्रीमती हनिट्र्यापको धन्दामा, बढ्यो उपेन्द्रको बार्गेनिङ पावर

माघ २६, २०८१
काठमाडौं
श्रीमान् अष्ट्रेलियामा–श्रीमती हनिट्र्यापको धन्दामा, बढ्यो उपेन्द्रको बार्गेनिङ पावर

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला गर्दा आफूलाई प्रधानन्यायाधीश नबनाउने धम्की आएको बताएकी छिन् ।

संविधानको सिद्धान्तसँग आफूले कहिल्यै सम्झौता नगर्ने उनको भनाइ छ । हिमालयन ह्वाइट हाउस कलेजले आयोजना गरेको ‘लिटरेचर फेस्टिबल’अन्तर्गत शुक्रबार बिहान ‘न्याय–अन्याय’ शीर्षकको प्रवचनमा विद्यार्थीले सोधेको एक प्रश्नमा प्रधानले संसद् विघटन मुद्दाको फैसला गर्दा प्रधानन्यायाधीश नबनाउने चेतावनी आएको बताएकी हुन् । 

‘चुनौतीको कुरा गर्दा मलाई तत्कालीन अवस्थामा दुईवटा प्रश्न उठ्यो– अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैनन् नि (भनिएको थियो) ! म प्रधानन्यायाधीश बन्न न्यायाधीश बनेको होइन, न्यायाधीश बन्न न्यायाधीश बनेको हो, जुन भूमिकामा छु, त्यससँग सम्झौता गर्दिनँ भनेँ,’ प्रधानले भनिन् ।  
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रुम’बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलोपटक यस प्रकारको भर्चुअल संवाद गरेका हुन् ।
००००
१८ माघमै संसदमा पेश भएका अध्यादेशलाई निर्णयार्थ पेश गर्ने कार्यसूची फिर्ता लिएर पछाडिलाई सार्दा केही संशय देखिएको छ ।

सरकारले सुशासन प्रवद्र्धन, व्यावसायिक वातावरण निर्माण, भूमि, सहकारीसहितका विषयमा केही कानून संशोधनका लागि ल्याएको अध्यादेशलाई बिहीबार नै दुवै सदनमा निर्णयार्थ पेश गर्ने तयारी थियो । तर, प्रतिनिधिसभामा सत्तारुढ दलहरूको बहुमत पुगे पनि राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि यसको भाका पछाडिलाई सारिएको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल अध्यादेशबारे निर्णायक देखिएको छ । यसैले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले छलफलपछि दुवै सदनबाट अध्यादेश पारित हुनेमा ढुक्क देखिएका छन् । राष्ट्रिय सभामा बहुमत र्पुयाउनका लागि सत्तारुढ दलले ३ सदस्य रहेको उपेन्द्र यादव नेतृत्वको जसपासँग छलफल गरिरहेका छन् । 
००००
काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई हातपात गरेको आरोपमा पक्राउ परेका ३ जनासँग जनही १–१ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो । 
००००
इलेक्ट्रिक पसलेलाई ‘हनीट्र्याप’मा पारेको आरोपमा एक युवती प्रहरी हिरासतमा छिन् । आचार्य थरकी ती युवतीलाई मधेशी मूलका एक पसलेलाई ‘हनीट्र्याप’मा पारेको अभियोगमा पक्राउ गरिएको हो । 

चितवनको रत्ननगर नगरपालिका– ८ की २८ वर्षीया आचार्य विगत ४ वर्षदेखि कुलेश्वरमा बस्दै आएकी थिइन् । विवाहिता आचार्यका श्रीमान अस्ट्रेलियामा छन् ।

आफ्नो राइसकूकर बिग्रिएको भन्दै उनी त्यसलाई बनाउन नजिकैको इलेक्ट्रिक पसलमा पुगिन् । पसलमै राइस कुकर छाडेर आउँदा आचार्य र पसल सञ्चालकबीच फोन नम्बर साटासाट भयो । 

राइस कुकर बनेपछि पसलले फोन गरेर लिन बोलाए । आचार्य पसल पुगेर कुरा गर्न लगिन् । पसले र उनीबीचको वार्तालाप टुंगिएन । आचार्य पटक–पटक पसलमा पुग्न थालिन् ।

पसले आफूतिर आकर्षित हुन थालेको सुईंको पाएपछि आचार्यले कफी पिउने प्रस्ताव राखिन् । पसले राजी भए । त्यसपछि उनले हनिट्र्याप थालेकी थिइन् । 
००००
निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौं तह)को निर्वाह भत्ता पाउने भएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले सरकारी सरह (आठौं तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
००००
बाल यौन दुरूपयोग कसुरमा दोषी ठहरिएका कृषिविज्ञ मदन राईलाई जिल्ला अदालत खोटाङले दुई वर्ष छ महिना कैद सजाय तोकेको छ । साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईलाई जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले आज सजाय निर्धारण गरेको हो ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा बोल्दै उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिकोे थालनी गरेसँगै समाजवादी क्रान्तिका सुरुवात भएको बताएका हुन् ।
००००
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रूपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गरेको परेड अवलोकन गरेका छन् ।
००००
सभामुख देवराज घिमिरेले विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गर्दै अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेखेका छन् ।

सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष अल–यमाहीलाई शुक्रबार पत्र लेख्दै विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेका हुन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी)ले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध साँधेको भन्दै उनको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले सरकारको कुनियतमा समर्थन नगर्न उनले संसद्समक्ष माग गरेका हुन् ।
००००
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् । हमास समूहको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइमा पहल गरिदिन उनले फोन वार्ता गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्