
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइलगायत मापदण्ड पूरा नगरी जनकपुरधाममा सञ्चालित निजी अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
आज जनकपुरधामको मुजेलियाबाट भ्रमरपुराचोकसम्मका २० वटा निजी अस्पतालको अनुगमन गरेपछि उनले स्वीकृतिबिना सञ्चालित अस्पताल आइतबारसम्म आफैँले ताल्चा लगाउन सञ्चालकहरूलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्रीले बहुसङ्ख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिएर सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर सेवा बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले अनुगमन गरेका निजी अस्पतालमा जीवनज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर, बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, जनकपुर ग्रान्डी हस्पिटल, रामा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, समर हस्पिटल, केयर मेडिकल सेन्टर, नेपाल एपोलो हस्पिटल, श्रीराम हस्पिटल, नयना अस्पताल, अरमान हस्पिटल, मिहिलाल इन्टरनेसनल, सहयोग हस्पिटल, जनकपुर मोडर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, माँ गायत्री मेमोरियल हस्पिटल, म्याक्स हस्पिटल एण्ड रिसर्च सेन्टर, स्वस्तिका हेल्थकेयर अस्पताल, लाइफ केयर एन्ड रिसर्च सेन्टर र ओम दीर्घायु हस्पिटल प्रालिमा रहेका छन् ।
मुख्यमन्त्री सिंहले स्वीकृतिप्राप्त भई नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिना सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनी दिए । अनधिकृत रूपले खेलिएका र स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी सर्त पूरा नगरेका अस्पताल सञ्चालनसँग सम्बन्धित सबै कागजपत्र लिएर सरकारको सम्पर्कमा आउन आग्रह गरिएको उनको सचिवालयले जनाएको छ ।