
पाथीभरामा केबलकार निर्माणमा देखिएका विवाद समाधानका लागि पटक-पटक भएको छलफल बिनानिष्कर्ष टुंगिएपछि आन्दोलनरत पक्षले पुन: आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पाथीभरामा केबलकारको विरोध गर्दै आएका ११ वटा संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ २९ गतेदेखि आन्दोलनको घोषणा गरेका हुन् ।
जसअनुसार माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आईएमई बैंकसहित आईएमई समूहको बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔं पदयात्रा गर्ने, केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ गर्ने, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोधसभा गर्नेलगायतका कार्यक्रम छन् ।
यस्तै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने तथा प्रदर्शन गर्ने उनीहरूले तय गरेका छन् ।
त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
पाथीभरामा केबलकार निर्माण शुरू भएपछि विरोधमा उत्रने क्रममा गत माघ १२ गते प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा प्रहरीको गोली लागेर ४ जना घाइते भएका थिए ।
त्यसको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशमा आमहड्ताल गरेको थियो ।
यस्तो छ विज्ञप्ति

