
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकेको अमेरिकाको विकास एजेन्सी 'युएसएड'बारे संसारभर चर्चा चलिरहेको छ ।
अमेरिकाले अन्तर्राष्ट्रिय सहयोग यही एजेन्सीमार्फत गर्ने गर्थ्यो । नेपालमा पनि यसअन्तर्गतका कार्यक्रमहरू ९० दिनका लागि स्थगित भएका छन् । यसको पक्ष-विपक्षमा नेपालीहरूले सामाजिक सञ्जालमार्फत बहस गरिरहेका छन् ।
नेपालमा धर्मनिरपेक्षता बढाउन युएसएडको पैसा खर्च गरेको आरोप लागेको छ । यद्यपि यस्ता आरोपको विश्वसनीय धरातल भने पाइएको छैन ।
युएसएड नेपालमा मात्र होइन, विश्वभर आलोचनाको केन्द्रमा रहँदै आएको विकास एजेन्सी हो । 'मिडल इस्ट फोरम'ले एक खोज अनुसन्धान गर्दै अनुदान प्रक्रियामा भएको अपारदर्शिता र लापरबाहीका कारण यो बदनाम भएको जनाएको छ ।
फोरमद्वारा गरिएका विश्लेषण अनुसार युएसएड र विदेश विभागले दिने गरेको पैसा आतंकवाद र कट्टरपन्थी गतिविधिमा संलग्न संगठनहरूमा पनि पुग्ने गरेको छ ।
संसारभरका मान्छेको जीवनस्तर उकास्ने प्रयोजनका लागि दिइने विकास अनुदान आतंकवादमा प्रयोग भएकाले यो बन्द हुनु सही रहेको उक्त फोरमले निष्कर्ष निकालेको छ ।
फोरमले गरेको विश्लेषणअनुसार युएसएड र अन्य सरकारी संस्थाहरूको अरबौं डलरको सहायता स्थानीय इस्लामिक कट्टरपन्थी समूहहरू र विदेशी आतंकवादी समूहलाई पुगेको छ ।
यी समूहहरूमा पाकिस्तानी लश्कर-ए-तैयावा (एलईटी) र गाजाको हमास लगायतका संगठन पनि सामेल छन्, जसले सशस्त्र संघर्ष र आतंकवादी हमला गर्दै आएका छन् ।
युएसएडले पाकिस्तानको एलईटी जस्ता समूहलाई अप्रत्यक्ष रूपमा आर्थिक सहयोग दिएको दाबी मिडल इस्ट फोरमले गरेको छ । उक्त आतंकवादी संगठनले भारतमा आतंकवादी हमला गरिरहेको छ ।
यस्तै, गाजास्थित हमासको समर्थक संस्थाहरूलाई पनि युएसएडका कर्मचारीहरूले पैसा पठाउने गरेका छन् । युएसएडका कर्मचारीले विभिन्न एनजीओमार्फत यस्ता प्रकारका कट्टरपन्थी समूहसँग सहकार्य गर्दै आएका छन् ।
हमासलाई अमेरिका र अन्य पश्चिमी देशले आतंकवादी संगठनको रूपमा पहिचान गरेका छन् तर यसले युएसएडका अनुदान प्राप्त गर्ने संस्थाहरूसँग अप्रत्यक्ष रूपमा काम गर्दै आएको छ ।
युएसएडका प्रतिनिधिहरूले गाजामा रहेका आतंकवादी समूहसँग सहकार्य गर्न विभिन्न परियोजना शुरू गरेका थिए । यसले युएसएडको अनुदान वितरण प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ ।
युएसएडले अनेरा (American Near East Refugee Aid) र इस्लामिक रिलिफ जस्ता संस्थाहरूसँग काम गर्दै आएको छ ।
यी संस्थाहरूले पछिल्लो समय आतंकवादी हमलामा सामेल भएको भन्दै गम्भीर आलोचनाको सामना गरिरहेका छन् ।
अनेराका कर्मचारीहरूले हमासका नेताहरूलाई समर्थन गरेको बयान दिँदै आएका छन् । यस्तै, इस्लामिक रिलिफका कर्मचारीले पनि गाजामा हमासको संरक्षकका रूपमा काम गर्दै आएको मिडल इस्ट फोरमको दाबी छ ।
यी संस्थाहरूले युएसएडको करोडौं डलरको अनुदान प्राप्त गरेका छन् र यसको माध्यमबाट विभिन्न हिंसात्मक गतिविधिहरूको प्रोत्साहन गरेका छन् ।
युएसएडको अपारदर्शिता
युएसएडका अनुदान र सहायता कार्यक्रमहरू प्रायः अपारदर्शी र अनियन्त्रित देखिने गरेका छन् । युएसएडको आन्तरिक निगरानी संस्था इन्स्पेक्टर जनरलले उक्त एजेन्सीलाई बारम्बार चेतावनी दिने गरेको थियो ।
उक्त संस्थाले युएसएडलाई अनुदान योजनामा स्पष्टता नभएको भन्दै पटक-पटक पत्र लेख्ने गरेको छ । विदेशमा रहेका एनजीओ र संयुक्त राष्ट्र संघका विभिन्न एजन्सीहरूको सम्पर्कमा रहेका कट्टरपन्थी समूहहरूको पहिचान गर्नका लागि युएसएडले प्रभावकारी कदम नउठाएको आरोप उक्त संस्थाले लगाएको छ ।
युएसएडका अनुदानका रकम आतंकवादी गतिविधिमा प्रयोग भएको जानकारी अमेरिकालाई पनि पर्याप्त रूपमा रहेको दाबी मिडल इस्ट फोरमको छ । यस्तो अनुदान रकम विश्वभरका गरिब मानिसको जीवनस्तर उकास्नुपर्नेमा आतंककारी क्रियाकलापका कारण विश्वभरमा थप गरिबी बढ्ने दिशातर्फ रहेको राष्ट्रपति ट्रम्पले पनि महशुस गरेको फोरमको दाबी छ ।
वर्ल्ड भिजन इन्टरनेसनल, क्याथोलिक रिलिफ सर्भिस र इन्टरएक्सन जस्ता संस्थाहरू युएसएडबाट अनुदान प्राप्त गर्ने मुख्य संस्थाहरू हुन् ।
यिनीहरूले अप्रत्यक्ष रूपमा हिंसात्मक गतिविधि र आतंकवादी समूहको समर्थन गर्ने गरेको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको दाबी छ ।
इन्टरएक्सनमाथि युएसएडको अनुदान लिएर संसारभरि रहेका अस्थिर क्षेत्रमा लगानी गरेको आरोप लाग्ने गरेको छ ।
अनुदान प्रक्रिया र आतंकवादको समर्थन
युएसएडको अनुदान प्रक्रिया निकै ढिलो र अपारदर्शी रहेको फोरमले गरेको सर्वेक्षणले जनाउँछ । यसको पहुँचमा सजिलै आतंकवादी संगठनहरू पुग्न सक्ने र सजिलै उक्त अनुदानलाई आफ्नो पक्षमा पार्न सक्ने फोरमले जनाएको छ ।
युएसएडका कर्मचारीले अनुदान वितरण गर्दा स्थानीय साझेदारबारे धेरै जानकारी राख्ने गरेका छैनन् । मिडल इस्ट फोरमको प्रतिवेदनले युएसएडको प्रमुख उद्देश्य नै प्रश्नको घेरामा रहेको दाबी गरेको छ ।
अमेरिकी सरकारको उद्देश्यविपरित विदेश सहायता कार्यक्रम आतंकवादी समूहको आर्थिक सहायता गर्ने मुख्य स्रोत बनिरहेको छ । एलईटीजस्तो पाकिस्तानी आतंकवादी समूहले भारतीय क्षेत्रमा आक्रमण गर्ने काममा युएसएडको अनुदान प्रयोग गरेको भन्दै धेरैपटक कूटनीतिक च्यानलमार्फत भारतले सजग गराउन खोजेको थियो ।
त्यस्तै युएसएडको अनुदानले अमेरिकी विश्वविद्यालयमै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको विभिन्न सञ्चारमाध्यमहरूको दाबी छ ।
टाइड्स फाउन्डेसनले पनि युएसएडबाट प्राप्त रकमलाई हिँसा र आतंकवादका लागि प्रयोग गर्ने गरेको विभिन्न प्रतिवेदनले जनाएका छन् ।
युएसएड र अन्य सरकारी संस्थाले गरेको अपारदर्शी अनुदान प्रक्रिया र सहकार्यले आतंकवादी समूहलाई प्रोत्साहन गरेको भन्दै हुने गरेको आलोचना नयाँ होइन ।
ट्रम्प प्रशासनले नै भन्यो - कट्टरपन्थीको सहयोगी !
यसले अमेरिकी विदेश नीति र सुरक्षातन्त्रका लागि यसले ठूलो चुनौती प्रस्तुत गरेकै कारण अहिले अमेरिकाले यसलाई बन्द गर्नुपरेको ट्रम्प प्रशासनका कतिपय अधिकारीले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी अर्बपति व्यवसायी एलोन मस्कले युएसएडबारे टिप्पणी गर्दै यसलाई आपराधिक संगठन भनेका थिए ।
विश्वभरी यसलाई बन्द गर्ने निर्णय मस्ककै सक्रियतामा लिइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले युएसएडलाई बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै यसलाई 'कट्टरपन्थीको सहयोगी' भनी टिप्पणी गरेका थिए ।
त्यस्तै अमेरिकी जनताले तिरेको कर विश्वभरि आतंकवादी क्रियाकलापमा खर्च हुने गरेको भन्दै विदेशमन्त्री रुबियोले मानवीय, विकास, र सुरक्षासम्बन्धी कार्यक्रम बन्द गर्नु अपरिहार्य रहेको बताएका थिए ।