२७ असार २०८३, शनिबार

अदालतका तहसिलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डे घुस मुद्दामा दोषी ठहर

दुवै जनालाई कैदसहित १०/१० हजार रुपैयाँ जरिवाना
माघ २८, २०८१
काठमाडौं
अदालतका तहसिलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डे घुस मुद्दामा दोषी ठहर

कपिलवस्तु जिल्ला अदालतका तहसिलदार सन्तोषकुमार मिश्र घुस लिएको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवानाको सजाय सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले मिश्रलाई दुई महिना र पाण्डेयलाई एक महिना कैद सजाय सुनाएको छ ।

दुवै जनालाई १०/१० हजार रुपैयाँ जरिवानासमेत गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

साथै, विशेषले प्रतिवादीहरूबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम प्रतिवादी मिश्र र  पाण्डेयबाट जनही  चार सय रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने फैसला गरेको रेग्मीले बताए ।

फैसला कार्यान्वयनको क्रममा भएको बन्डा मुचुल्का बदर गराउनका लागि उजुरीकर्ता अशोककुमार ठाकुर भन्ने अशोककुमार नाउसँग घुस/रिसवत माग गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

प्रतिवादी मिश्रले उजुरीकर्तासँग घुस/रिसवतको मोलमोलाइ गरेको अडियो/भिडियो संवाद तथा सोको लिपिबद्ध आलेखबाट देखिएको, तहसिल अन्तर्गत बिगो फाँटका कम्प्युटर अपरेटर पाण्डेयको साथबाट घुस/रिसवत माग गरेको २० हजार रुपैयाँ बरामद भएको देखिएको विशेषको फैसलामा उल्लेख छ ।

बरामद भएको रकमको नोट नम्बरसमेतका विवरणहरू उजुरीमा उल्लेखित नोट नम्बर एवं  विवरणसँग मिलेको देखिएको फैसलामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्