
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् ।
सोमबार भक्तपुरमा जीपी कोइराला फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् ।
संसद्लाई छलेर जान खोज्यो भने त्यो निरकुंश हुने बताउँदै उनले दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नभएकाले संसद्बाटै ऐन, कानून बनाउनुपर्नेमा जोड दिए ।
‘अध्यादेशबाट देश चलाउने संस्कार हाम्रो होइन । प्रजातन्त्रमा भरसक हामीले संसद्बाटै नियम, कानून, ऐनहरू बनाइ अगाडि जानुपर्छ’, उनले भने ।
सोही कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता, विभिन्न जिल्लाका सभापतिलगायतले आफ्ना धारणा राखेका थिए ।