
राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाले पीडित दाहालको सोमबार चाबहिलस्थित दीर्घायु अस्पतालमा निधन भएको हो ।
पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको निर्वाचनमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । दाहालले ६५ हजार सात सय ७७ मत ल्याएकी थिइन् । श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।
अविवाहित दाहाल बहिनीको घरमा बस्ने गरेको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वध्यक्ष रमेश अर्यालले बताए । उनको सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।