०६ असार २०८३, शनिबार

काठमाडौं महानगरका ३६ स्थानमा ‘पेलिकन’ जडान, १३ ठाउँका सञ्चालनमा

माघ २९, २०८१
काठमाडौं
काठमाडौं महानगरका ३६ स्थानमा ‘पेलिकन’ जडान, १३ ठाउँका सञ्चालनमा

सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै काठमाडौं महानगरपालिकाले ३६ स्थानमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन)  प्रणाली जडान गरेको छ ।

अघिल्लो वर्ष कामपाले बबरमहलमा ‘बटम’ थिचेर सडक वारपार गर्ने उक्त प्रणाली जडान गरेको थियो । चालू आर्थिक वर्षमा उक्त प्रणाली थप स्थानमा जडान गरेको हो ।  

कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार ३६ स्थानमा उक्त प्रणाली जडान गरिसकेको भए पनि १३ स्थानको सञ्चालनमा आइसकेको छ । अन्य स्थानमा प्राविधिक काम भइरहेको छ ।  ठमेल, महाराजगञ्ज, नक्साल, बालुवाटार, गौशाला, प्रदर्शनी मार्ग, बागबजार, ताहाचललगायतका स्थानमा ती प्रणाली जडान गरिएको श्रेष्ठले जानकारी दिए ।

उक्त प्रणाली मुख्यगरी सडकसँगै जोडिएका कामपाका विद्यालय र अस्पताल अगाडिका जेब्राक्रमा राखिएका छन् । आवश्यकताका आधारमा अन्य स्थानमा पनि जोड्ने तयारी रहेको कामपाले जनाएको छ ।

सल्लाहकार श्रेष्ठले भने, 'यस कार्यका लागि कामपाले चालू आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । यस प्रणालीमा यात्रुले आवश्यकताअनुसार ‘जेब्राक्रस’तिर हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बालेर सडक पार गर्न सक्ने छन् ।'

विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम हुनाले कामपाले पेलिकन प्रणाली जडान गरेको जनाएको छ । यस प्रणालीमा पैदलयात्रीले ‘स्विच थिचे’पछि पाँच सेकेन्डमा जेब्राक्रसतर्फ हरियो र सवारी गुड्नेतर्फ रातो बत्ती बल्छ ।

एकपटक थिचेपछि ३० सेकेन्ड बत्ती बल्छ । पहिलो ३० सेकेन्ड बत्ती बलेको अवधि सकिएपछिको दुई मिनेटमा पैदलयात्रीले अर्को पटक बटन थिच्न मिल्छ । 

विद्यालय क्षेत्रमा राखिसकेपछि पैदलयात्रीको चाप रहेको अन्य स्थानमा पनि पेलिकन प्रणाली जडान गर्ने तयारी कामपाको छ ।

salt training

कमेन्ट गर्नुहोस्