
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रवि लामिछाने गृहमन्त्री रहेको समयमा प्रहरी प्रशासनको दुरुपयोग भएको आरोप लगाएका छन् । प्रहरी प्रमुखलाई समितिमा बोलाएर निर्दोष छ भनेर भन्न लगाइएको उनले आरोप लगाए ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर सांसद खतिवडाले लामिछाने गृहमन्त्री रहेको समयमा प्रहरी प्रशासनको चरम दुरुपयोग भएको आरोप लगाएका हुन् ।
लामिछानेको नाम नलिई खतिवडाले संसद्मा प्रश्न गरेपछि रास्वपा सांसद आक्रोशित बनेका थिए ।
‘नेपाल प्रहरीको दुरुपयोग भएको कुरा संसद्मा उठ्यो । को गृहमन्त्री हुँदा हामीले देखेका थियौं, १ नम्बरको नबनाएर १५ नम्बरकोलाई बढुवा गरेको ? आईजीलाई समितिमा बोलाएर निर्दोष छ भन्देउ भनेर कानेखुसी गरेको पनि सुन्यौं,’ खतिवडाले रास्वपाप्रति कटाक्ष गर्दै प्रश्न गरे ‘कसले सदुपयोग गर्यो, कसले दुरुपयोग गर्यो ? प्रहरीमा हाइजम्प लङ्ग जम्प लागू गरियो । २ ब्याज पछाडिकोलाई प्रमोसन गरियो ।’
लामिछाने गृहमन्त्री रहेको समयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले संसद्को राज्य व्यवस्था समितिमा गएर सहकारी ठगीमा रवि निर्दोष रहेको जवाफ दिएका थिए ।
रास्वपाका कार्यकर्ताले अदालतमा वकालत गरेका वकिललाई गालामा हान्ने काम पनि भएको भन्दै उनले कटाक्ष गरे । ‘बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्ने कामको शुरूआत भयो । अदालत बाहिर जिन्दावाद मुर्दावादको प्रचलन कसले शुरू गरेको हो ? सत्तामा हुँदा एकथरी प्रतिपक्षमा हुँदा अर्कोथरी बोल्ने प्रवृत्ति कसले देखाएको हो ?,’ उनले प्रश्न गरे ।
खतिवडालाई नियमावलीमा नभएको समय दिएको भन्दै नेकपा माओवादी र रास्वपा सांसदहरूले नियमापत्ति गरेका थिए ।
त्यसपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।