
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा निर्माणाधीन घरको पानी ट्यांकीमा परेर मृत्यु हुनेहरूको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा सल्यानको माल्टा स्थायी घर भई हाल तुलसीपुर ९ बस्ने ४२ वर्षीय कमल गिरी र सोही ठाउँका ३४ वर्षीय घनश्याम गिरी रहेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमबहादुर पराजुलीले मृतक कमल निर्माण व्यवसायी र घनश्याम मजदुर (मिस्त्री) रहेको खुल्न आएको बताए । दुवै जनाले घर ठेक्का लिएर काम गर्ने गर्थे ।
उनीहरू दुवै जना दाजुभाइका छोराहरू रहेको खुल्न आएको डीएसपी पराजुलीको भनाइ छ ।
उनका अनुसार निर्माण भइरहेको घर मणिराम चन्दको रहेको खुलेको छ ।
उनीहरूको निसासिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको डीएसपी पराजुलीले बताए ।
मंगलबार बेलुका पानी ट्यांकीको सट्रिङ्ग निकाल्ने क्रममा उनीहरू ट्यांकीभित्र प्रवेश गरेका थिए ।
स्थानीयले उनीहरू पानी ट्यांकीमा रहेको भन्ने सूचना पाएपछि बुधबार बिहानै प्रहरीलाई जानकारी गराएका थिए ।
हाल ट्यांकी फोडेर उनीहरूलाई निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।