
बर्दीमा रहेका प्रहरीलाई कुट्ने एमाले निकट अखिलका कार्यकर्ता कमलराज जोशीलाई उन्मुक्ति दिइएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन् । उनले केपी ओली सरकारले कानूनी शासनको धज्जी उडाएको उनले आरोप लगाए ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा राप्रपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका शाहीले बर्दीको प्रहरी कुट्नेलाई उन्मुक्ति दिँदा ७९ हजार प्रहरीको शिर निहुराउने काम भएको बताएका हुन् ।
‘माघ २७ गते राति ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई अखिलको स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको टिमले प्रहरीमाथि कुटपिट गर्छ । उनलाई उन्मुक्ति दिइन्छ,’ शाहीले भने, ‘७९ हजार प्रहरीको शिर निहुराउने काम यो सरकारले गरेको छ । प्रहरीको बर्दी लगाएका मान्छेलाई कुट्ने छुट सरकारले दिएको हो ?’
जस्तोसुकै अपराध गरे पनि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका कार्यकर्तालाई छुट दिएको भन्दै शाहीले छुट्टै कानून बनाउन चुनौती दिए ।
‘विधिको शासन नमान्ने हो भने सभामुख पनि छुट्टै बनाउनुस्, कानून पनि ओली सरकारको कानून र नेपाल सरकारको कानून बनाउनुस्, प्रहरी पनि ओली सरकारको प्रहरी र नेपाल सरकारको प्रहरी बनाउनुस्,’ शाहीले भने ।
सरकारले बलात्कार र लुटका घटनामा पनि छुट दिएको भन्दै शाहीले आपत्ति जनाए ।