१९ असार २०८३, शुक्रबार

सहकारी ठगीमा रवि संलग्न छैनन् भन्ने प्रचण्डलाई एमाले सांसदले सुनाए 'खसी चोरको किस्सा'

माघ ३०, २०८१
काठमाडौं
सहकारी ठगीमा रवि संलग्न छैनन् भन्ने प्रचण्डलाई एमाले सांसदले सुनाए 'खसी चोरको किस्सा'

सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको संलग्नता नरहेको भन्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’को दाबी खण्डन गर्न नेकपा (एमाले)का सांसदले गाउँको खसी चोरको किस्सा संसद्मा सुनाएका छन् । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद्मा पञ्चायकालमा किसानको खसी चोर्ने काजीको किस्सा सुनाएका हुन् ।

‘हाम्रो गाउँतिर काजीहरू हुन्थे । प्रधानपञ्च (काजीहरू)आफू नउठ्ने तर, सबै उनीहरूले उठाउँथे । आफूले जे भन्यो त्यही मान्ने मान्छे उठाउथें । किसानहरूले खसी बोका पालेका हुन्थे, दशैंको बेलामा बिक्री हुन्थ्यो । एक/दुइटा बिक्री नभएको खसी किसानहरूले घरमै राख्थे । अनि ती काजीले आफ्नो घरमा पालेको मान्छेलाई घरघरमा गएर जम्मै खसी ल्याउ भनेर उर्दी जारी गर्थे । आफ्नै घरमा पालेको मान्छेले गएर किसानको घरघरबाट खसी ल्याउँथे । खसी ल्याएर काटेर खान्थे । मोजमस्ती गर्थे, किसानहरू आउँथे काजीसा'प हाम्रो खसी किन ल्याइयो भनेर उसलाई प्रश्न गर्थे ।

काजीसा'प भन्ने गर्दथे– म गएको छु तिमीहरूकोमा ? खोरबाट खसी लिन ? यिनीहरू गएर ल्याए त त्यसको जिम्मेवारी म हुन्छु ? कहिले देखेका छौं– तिम्रो घर आँगनमा गएर खसी डोर्‍याएर ल्याएको देखेका छौं ? केही प्रमाण छ तिमीहरूसँग ? तर के गर्ने ल्याइहाले यिनीहरूले, काट्नु त परिगो, खानु त परिगो ! 

अनि प्रधानपञ्च बोलाइन्थ्यो । प्रधानपञ्चले पनि त्यही भन्थे । काजी गएका रहेछन् तिम्रो खोरमा ? तिम्रो घरमा गए, डोहोर्‍याएर ल्याए, देखियो ? सपुत प्रमाण केही छ ? प्रधानपञ्चले भन्छन्, काजी त गएका छैनन् । काजीको घरका मान्छेहरू गएका हुन् । ल्याएका हुन्, काजीले खाएका पनि हुन् । तर प्रधानपञ्चले पनि त्यही भन्थ्यो । '

माघ २४ गते संसद्मा सम्बोधनका क्रममा प्रचण्डले रविको सांसद पद निलम्बन गर्न नपर्ने धारणा राखेका थिए । डोरीलाई सर्प भनेर प्रचण्डले संसद्मा झूट बोलेको रिजालले आरोप लगाए ।

सहकारी ठगी अनुसन्धानको शिलशिलामा कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि उनको सांसद पद अहिले निलम्बनमा छ । 

रिजालले आफूले सुनाउन लागेको कथा कसैसँग मिलेमा संयोग मात्र हुने भनेर रास्वपा सांसदहरूप्रति कटाक्ष गरे । संसद् अराजकको थलो नभकोले तथानाम नबोल्न सांसदहरूलाई उनले सुझाव दिए । 

salt training

कमेन्ट गर्नुहोस्