१२ साउन २०८३, मंगलबार
फागुन १ को पूर्वसन्ध्या

माओवादी ‘जनयुद्ध’लाई ओली र बादलले वैधता दिनुपर्ने हो ?

माघ ३०, २०८१
काठमाडौं
माओवादी ‘जनयुद्ध’लाई ओली र बादलले वैधता दिनुपर्ने हो ?

नेकपा (माओवादी केन्द्र)ले तत्कालीन समयमा सशस्त्र संघर्ष घोषणा गरेको तीन दशक पुग्नै लाग्यो । दश वर्षे संघर्षका क्रममा हत्या, हिंसा, लुटपाट र आक्रमणका थुप्रै घटनाहरू भए । माओवादी र सरकारबीच अनगिन्ती दोहोरो भिडन्त भए । सशस्त्र संघर्षमा सरदर १७ हजार नागरिकले ज्यान गुमाएको भनिन्छ । यो यकिन तथ्याङ्क भने होइन ।

माओवादी शान्ति प्रक्रियामा आएको पनि १८ वर्ष भयो । माओवादीले २०५२ फागुन १ गते शुरू गरेको संघर्ष ‘जनयुद्ध’ कि ‘हिंसा’ भन्ने विषय अहिले फेरि बल्झिएको छ । केही समयअघि नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले सदनमा माओवादीको गतिविधि हिंसात्मक भनेपछि विवाद चर्किएको थियो । २०७९ को चुनावपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ‘जनयुद्ध दिवस’ घोषणा गरेर क्यालेन्डर नै सार्वजनिक गरेको थियो । जसलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि माओवादीले शुरू गरेको सशस्त्र संघर्ष ‘जनयुद्ध’ कि ? ‘हिंसा’ ! भन्ने बहस अहिले फेरि सतहमा आएको हो । 

भोलि (१ फागुन, २०८१) माओवादीले सशस्त्र संघर्ष घोषणा गरेको २९ वर्ष पार गर्दै छ । सशस्त्र संघर्षको सूत्रधार १४ जनामध्ये एक रामबहादुर थापा ‘बादल’को एक साता अघिको अभिव्यक्तिलाई लिएर माओवादी कार्यकर्ताले तल्लो स्तरको गालीगलौज गरे । एमाले उपाध्यक्षका हैसियतले बादलले सैद्धान्तिक जगबाट आफ्नो भनाइ राखेका थिए । ‘जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेको हिंसा हो । हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ । युद्ध, हिंसा भनेको वर्ग संघर्षको सर्वोच्च रूप हो’, बादलले प्रष्टसँग भनेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक माओवादी सशस्त्र संघर्ष हिंसा भनिरहनु, योगेशले सदनमै हिंसा भन्नु र सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ खारेज गरिसक्दा पनि माओवादी कार्यकर्तालाई बादलले ‘जनयुद्ध’ भनिदिए वैधता हुने थियो भनेर आश गर्नु फगत हो । 

माओवादी शान्ति प्रक्रियामा आएपछि ४ वटा सरकारको नेतृत्व गरिसकेको छ । १४ पटक सरकारमा सहभागी भएको छ । त्यो बेला कुनै चासो छैन, अहिले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र एमाले बनिसकेका पूर्वसहकर्मी बादलबाट ‘जनयुद्ध’को वैधता कुनै पनि इमान्दार माओवादी कार्यकर्ताले खोज्दैन । 

२९ वर्षमा ७५ प्रतिशत सहकर्मीले प्रचण्डलाई छोडे 
तीन दशक हाराहारीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ७५ प्रतिशत सहकर्मीले साथ छोडेका छन् । यसको दोष छोडेर जानेलाई कि प्रचण्डका कार्यकर्ताले आफ्नै वरपर खोज्ने ? यसको हेक्का पछिल्ला माओवादी कार्यकर्ताले राख्दैनन् । बरू एकोहोरो प्रचण्डलाई नेतृत्व स्थापित गर्ने नाममा भजनमण्डली निर्माण गरेर गलत भाष्य निर्माण गरिरहेका छन् । जसले माओवादीका लागि कहिल्यै हित गरेको छैन । 

माओवादीबाट दुई–दुई पटक ‘विद्रोह’ गरेर हाल एमालेका उपाध्यक्ष बनिसकेका बादल, एमालेका अध्यक्ष ओली र एमालेकै सचिव योगेश भट्टराईसँग ‘जनयुद्ध’ शब्दलाई स्वीकारेर वैधता देऊ भन्दै याचना गरेर माओवादी स्वयंले ‘जनयुद्ध’कै खिल्ली उडाएको छ ।

माओवादीले २०५२ मा ‘जनयुद्ध’ शुरू गर्दा केन्द्रीय समिति सदस्य अर्थात् ‘हाइकमाण्ड’मा को–को थिए ? भन्ने तथ्यले अहिलेको माओवादी नेतृत्व र पार्टीको मनोदशालाई छर्लङ्ग पार्छ । हाल माओवादीका अध्यक्ष ‘प्रचण्ड’ २०४१ मा नेकपा (मशाल)का केन्द्रीय सदस्य बनेका थिए । २०४४ पछि उनी लगातार नेकपा (मशाल), एकताकेन्द्र हुँदै माओवादीको निरन्तर नेतृत्वमा छन् । प्रचण्डकै नेतृत्वमा २०५१ गते १४ जनाको टिमले ‘जनयुद्ध’ शुरू गरेको थियो ।

मोहन वैद्य ‘किरण’ पार्टीका निम्ति सैद्धान्तिक पक्षको अब्बल, मार्क्सवादी दार्शनिक मानिन्छन् । ‘जनयुद्ध’का लागि ‘माओवाद र माओ विचारधारा’मा लामो बहस चलाएका वैद्य हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महामन्त्री बनेर बसेका छन् । 

डा. बाबुराम भट्टराई २०४७ सालको केन्द्रीय सदस्य हुन् । नेकपा (मसाल)बाट विद्रोहगरी एकताकेन्द्रमा मिसिएका थिए । नेपाली समाजमा नेकपा (माओवादी)ले शुरू गरेको ‘जनयुद्ध’लाई मूलधारमा प्रवेश गराउन उनको नामले केही हदसम्म काम गरेको थियो । अहिले उनी ‘जनयुद्ध’लाई हिंसा भन्ने पक्षमा नहोलान् तर, कम्युनिस्टहरूले मान्ने प्रमुख पदप्रर्दशक सिद्धान्त ‘माक्र्सवाद’लाई नै तिलाञ्जली दिएर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) खोलेर बसेका छन् ।

प्रचण्डसँग सबैभन्दा नजिकका सहयात्री ‘बादल’ २०४२ मै केन्द्रीय सदस्य थिए । २०५२ फागुन १ बाट माओवादीले शुरू गरेको ‘जनयुद्ध’का एक महत्वपूर्ण भूमिकामा रहे । वैद्यसँगै प्रचण्डबाट अलग्गिएका बादल नेकपा कालमा प्रचण्डसँग अलग भएर हाल नेकपा (एमाले)को उपाध्यक्ष छन् । 

२०३७ मा केन्द्रीय सदस्य बनेका सीपी गजुरेल हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा छन् । माओवादीले ‘जनयुद्ध’ शुरू सँगसँगै क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम)को सदस्य बन्यो । जसको नेतृत्व गजुरेलले गरे । उनी एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदा भारतमा पक्राउ परेर नेपालमा माओवादी शान्ति प्रक्रियामा आएपछि मात्रै रिहाइ भएका थिए ।

हरिबोल गजुरेल २०४१ सालमा केन्द्रीय सदस्य बनेका थिए । उनी २०४७ मा विद्रोही नेकपा (मसाल)को नेतृत्व गरेर एकता केन्द्रमा समाहित भएका थिए । हाल माओवादी केन्द्रका सचिव गजुरेल पार्टीभित्र वैचारिक नेतृत्वका रूपमा स्थापित छन् । प्रचण्डसँगै रहे पनि उनी नेतृत्वको आलोचकका रूपमा चिनिन्छन् ।

टोपबहादुर रायमाझी २०४८ मा एकता केन्द्रको केन्द्रीय सदस्य बनेका हुन् । हरिबोल, बाबुरामसँगै नेकपा (मसाल)बाट विद्रोह गरेका थिए । नेकपा कालमा माओवादीलाई छोडेर एमाले बनेका उनी दसौं महाधिवेशनबाट सचिव निर्वाचित भए । रायमाझी नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएर हाल ‘भद्र सुधारगृह’ सुन्धारा कारागारमा छन् ।

अग्नि सापकोटा २०५१ सालमा केन्द्रीय सदस्य बनेका हुन् । माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा मात्रै यस्ता पात्र हुन् जसले प्रचण्ड २०४१ सालमा वाईसीएलको अध्यक्ष हुँदादेखि साथ छोडेका छैनन् । अहिले प्रचण्डको विश्वासपात्रका रूपमा सापकोटा चिनिन्छन् । प्रचण्डका अर्का विश्वासपात्र पोष्टबहादुर बोगटी २०४५ का केन्द्रीय सदस्य थिए । उनको २०७१ भदौमा निधन भएको हो । 

माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव २०५१ का केन्द्रीय सदस्य हुन् । प्रचण्ड नेतृत्वको माओवादीसँग पटक–पटक बिच्किएका यादव पछिल्लो पटक भने मधेश प्रदेशको इन्चार्ज पाएका छन् । यादवकै कारण मधेशमा माओवादीभित्र सधैं किचलो हुने गर्दछ ।

२०४८ मै केन्द्रीय सदस्य बनेका नारायण शर्मा हाल नेकपा (माओवादी केन्द्र)मा रहे पनि निष्क्रिय देखिन्छन् । माओवादीभित्र लामा वैचारिक लेख लेख्न सक्ने शर्मा यतिखेर माओवादी केन्द्रको कार्यक्रममा देखिन छोडेका छन् ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ २०४१ को केन्द्रीय सदस्य हुन् । माओवादीले शुरू गरेको ‘जनयुद्ध’मा पहिलो ‘युद्ध बन्दी’ साटासाटमा परेका पात्र हुन गुरुङ । उनी तत्कालीन प्रहरी अधिकृत ठूले राई (एआईजीबाट अवकाश प्राप्त)सँग बन्दी साटासाट गरिएको थियो । प्रचण्डबाट वैद्य पक्षमा लागेर गुरुङ बादलसँगै फर्किएका थिए ।

माओवादी ‘जनयुद्ध’ शुरू गर्दाकी एक मात्र महिला केन्द्रीय सदस्य पम्फा भुसाल हुन् । २०५१ मा केन्द्रीय सदस्य बनेकी भुसाल हाल नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष छिन् । उनी पनि प्रचण्डबाट वैद्य पक्षमा लागेर बादलको टिमसँगै फर्किएकी हुन् ।

२०४७ सदस्य बनेका राम कर्की हाल नेकपा (माओवादी केन्द्र)को सचिव छन् । २०५२ फागुन १ बाट माओवादीले ‘जनयुद्ध’ शुरू गर्दा कार्की नैतिक कारवाहीमा परेर प्रवासमा थिए । उनी २०५६ वरपर पार्टीमा फर्किएका थिए । 

लोकेन्द्र विष्ट २०५१ मा राप्तीबाट एक्ला केन्द्रीय सदस्य थिए । उनी २०५२ सालमा केन्द्रीय सदस्य भए पनि जेलमा थिए । विष्ट माओवादी ‘जनयुद्ध’ शुरू भएदेखि दुई पटक जेलमा परे । उनको धेरै समय कारागारमै बित्यो । विष्टले माओवादी छोडेर केही समय काभ्रेमा कालो धान उत्पादन र त्यसपछि दाङमा ड्रागनफल उत्पादनमा लागे । विष्ट हाल कृषि कर्मबाट पनि विरक्तिएर गुमनामजस्तै जीवन बिताएका छन् ।

अहिले माओवादीमा धेरै नेताहरू छन् । माओवादीमा अहिले ‘जनयुद्ध’ शुरू गरेपछि उत्पादन भएका युवाहरूको बाहुल्यता छ । तर, तत्कालीन एकताकेन्द्रबाट विभाजन भई शान्ति प्रक्रियापछि जोडिएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायत नेताहरूले माओवादीको ‘जनयुद्ध’लाई सैद्धान्तिक रूपमा ‘सामाजिक फाँसीवाद’ भनेर विश्लेषण गरेका थिए । अहिले प्रचण्डसँग रहेका नारायणकाजीहरूले ‘महान जनयुद्ध’भन्दा स्वयं युद्धकालीन माओवादीहरूबीच ‘हाँसीमजाक’ चल्छ । 

अहिले माओवादी कार्यकर्ताहरू ‘जनयुद्ध’लाई केपी ओली, बादल, सर्वोच्च अदालतले वैधता दिएन भनेर कुर्लनुभन्दा नेतृत्वबाट सहकर्मीहरू किन यति टाढा पुगे ? ‘जनयुद्ध’ के का लागि र किन गरियो ? भन्नेतिर गहिरो अध्ययन गरेर माओवादीका कार्यकर्ताहरूले प्रचण्डसँग अलिक बढी र बाहिर रहेकाहरूसँग प्रश्न गर्दा उचित जवाफ मिल्ने छ ।

‘जनयुद्ध’ कि ‘हिंसा’ ?
‘युद्ध, हिंसा भनेको वर्ग संघर्षको सर्वोच्च रूप हो’, ‘जनयुद्ध’ थालनी गरेका व्यक्ति बादलको सैद्धान्तिक मत हो । माओवादीले ‘जनयुद्ध’ शुरू कसरी गरेको थियो ? भन्ने उनीहरूको आधिकारिक निर्णायक दस्तावेज पल्टाउनुपर्ने हुन्छ । 

माओवादीका तात्कालीन महामन्त्री प्रचण्डले २०५२ असारमा सम्पन्न केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ‘जनयुद्ध’ सञ्चालनको प्रस्ताव गरेका थिए । उक्त बैठकले ‘जनयुद्ध’का लागि मूल नारा तय गर्‍योः ‘नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !!!’ जुन नारा माओवादीको ‘जनयुद्ध’ शुरू गरेको पहिलो पोष्टरमा लेखिएको थियो । 

‘जनयुद्ध’ कसरी शुरू गर्ने र संघर्षका स्वरूपबारे प्रचण्डको २०५२ असारमा पारित प्रतिवेदनमा ‘सेवोटेज’ शीर्षकमा व्याख्या गरिएको छ । प्रतिवेदनमा भनिएको छ– ‘सेवोटेजः योजनाबद्ध ढंगले सामन्त, जमिन्दार, दलाल नोकरशाही पुँजीपति एवम् सरकारी स्वामित्वमा रहेको आर्थिक संयन्त्रमा तोडफोडद्वारा क्षति पुर्‍याउनु, स्थानीय जाली फटाहा र जासजुसहरूको घर र सम्पत्ति क्षतिग्रस्त पार्नु, सरकारी यातायात अबरुद्ध पार्नु, बाटोघाटो, पुल, विद्युत लाइनको तोडफोड सबै यही सेवोटेजअन्तर्गत पर्दछन् । कारवाहीको यो रूप दुस्मनको लड्ने क्षमता घटाउने छापामारहरूको एउटा प्रभावकारी हतियार हो ।’

माओवादीको सशस्त्र संघर्ष कालमा सबैभन्दा बढी सफल भएको कार्य भनेको ‘सेवोटेज’ नै हो । उनीहरूले सेवोटेज गरेर कति धनजन आर्जन र क्षति पुर्‍याएका थिए त ? भन्ने एउटा उदाहरण यस्तो छ– ‘२०५२ फागुन १ देखि बैंक हान्न लागेका माओवादीले २०६० वैशाखसम्म नेपाल बैंक, वाणिज्य बैंक र कृषि विकास बैंकबाट ३३ करोड रुपैयाँभन्दा बढी नगद र सुनचाँदी लुटिसकेको सम्बन्धित बैंकहरूको तथ्याङ्कबाट थाहा हुन्छ’ (खोज पत्रकारिता केन्द्रका लागि उजिर मगरको रिपोर्टः २०६० नेपाल साप्ताहिक, वर्ष ४ अंक २९, असार २०६१ मा प्रकाशित ) ।

यी समग्र सत्यबाट बाहिर गएर जब माओवादीहरू ‘जनयुद्ध दिवस’ र ‘हिंसा’को शब्दमा अल्झिन्छन् त्यसले पुष्टि गर्छ ‘वैचारिक खडेरी’ । आफूले शुरू गरेको कार्यलाई स्थापित स्वयंले गर्ने हो । माओवादीबाट दुई–दुई पटक ‘विद्रोह’ गरेर हाल एमालेका उपाध्यक्ष बनिसकेका बादल, एमालेका अध्यक्ष ओली र एमालेकै सचिव योगेश भट्टराईसँग ‘जनयुद्ध’ शब्दलाई स्वीकारेर वैधता देऊ भन्दै याचना गरेर माओवादी स्वयंले ‘जनयुद्ध’कै खिल्ली उडाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्