
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा बिदेसिए भनेर चिन्ता लिन आवश्यक नभएको बताएका छन् ।
बुधबार बुटवलमा मुस्लिम संघ, लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन गर्दै महामन्त्री थापाले विदेशबाट आएको रेमिट्यान्सको सही सदुपयोग गर्न आवश्यक रहेको बताए ।
'विदेश जाने र आउने क्रम भइरहन्छ,' उनले भने, 'युवा विदेश जाँदा टाउको दुखाउनु पर्दैन, युवा फर्किने क्रममा पनि छन् ।'
समाज नकारात्मकतातर्फ बग्न थालेको उनको भनाइ छ ।
‘अर्थतन्त्रमा ठूलो समस्या छ, साना-सानो चोरी नियन्त्रण गरेर जनतालाई राहत दिनुपर्ने आवश्यक छ, समाजमा बगेको नकारात्मकतातर्फ नबगौं’ महामन्त्री थापाले भने, ‘देशको चिन्तन र देशको समस्याको समाधान दिने हो । समाजमा नकारात्कतातर्फ बग्ने होइन समाधान हो, देशलाई अप्ठ्यारोबाट जोगाउने हो ।’
अपेक्षाअनुसार प्रदेश र स्थानीय तहले काम गर्न नसकेको बताउँदै उनले सुधार गर्दै राम्रा काम गर्न आवश्यक रहेको बताए ।
‘साना-साना काम गरेर राहत जनतालाई राहत दिनुपर्नेछ, सहकारीको कानून कार्यान्वयन गरेर, साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्नेछ । पाँच सात वटा साना र राम्रा काम गरे जनतामा सुधार आउनेछ,’ महामन्त्री थापाले भने ।
पार्टीको अधिवेशन सही ढंगले हुने महामन्त्री थापाले बताए ।