
ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग भेटवार्ता गरेका हुन् ।
भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डीपीआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए ।
भेटमा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर, पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रूप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ ।
यस्तै, बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समितिको १४औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।
यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकमार्फत् छलफल अगाडि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलश्रोतको क्षेत्रमामा महत्वपूर्ण कार्यहरुका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएका थिए ।