
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समाजसेवा र मानवीय काम गर्न मान्छेको मनैबाट लगाव हुनुपर्ने बताएका छन् ।
कागेश्वरी मनोहरामा रहेको असहाय गाईबाछा संरक्षण अभियानको अवलोकन गर्ने क्रममा कोइरालाले यस्तो बताएका हुन ।
उनले समाजसेवा गर्न मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने बताए ।
कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेर संस्थाले सरकारले गर्नुपर्ने काम गरेको भन्दै प्रशंसा गरे ।
उनले यो संस्थालाई व्यवस्थित बनाउनुपर्ने पनि बताए । राष्ट्रिय जनवारको संरक्षणजस्तो पवित्र कामलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न आफूबाट हुने सबैखाले सहयोग गर्न तयार रहेको उनले बताए ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका नगरप्रमुख उपेन्द्र कार्की राष्ट्रिय जनावरको संरक्षण अभियानलाई स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको जानकारी दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया, प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दीपक भट्टराई, कांग्रेसका युवा नेता हरिबोल भण्डारीलगायतको उपस्थिति थियो ।
सो क्रममा कोइरालाले केन्द्र परिसरमा बीपी कोइरालाका नाममा रुद्राक्षको विरुवा रोपेका थिए भने त्यहाँ संरक्षण गरिएका गाईलाई पिठो खुवाएका थिए । कोइरालाले सो केन्द्रलाई ५० हजार बराबरको पिठो हस्तान्तरण पनि गरे ।
एकसय रोपनी क्षेत्रफलमा फैलिएको संरक्षण केन्द्रमा २ सय ७१ वटा गाई तथा बाछाहरू छन् ।