
आफ्ना ग्राहकलाई वाइफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाइफाई (भोवाइफाई) सेवाको शुरूआत गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरूप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाइफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउने कम्पनीले जनाएको छ ।
वाइफाई कलिङ्का नामले पनि चिनिने भोवाइफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला विल्डिङका बेसमेन्टहरू र दुर्गम स्थानमा सेवा लिन समेत प्रयोग गर्न सकिन्छ । प्रारम्भिक चरणमा हाललाई, एनसेलको यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसको विषेशता भनेको सेवाबाट फाइदा लिनका लागि अतिरिक्त शुल्क लाग्दैन । ग्राहकले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्छन् ।
भ्वाइस ओभर लङ् टर्म इभोलुशन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भए जस्तै, भोवाइफाईका लागि भरपर्दो वाइफाई कनेक्सनको आवश्यकता पर्दछ । कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दा गर्दै मोबाइल नेटवर्क भएको स्थानमा पुगेमा बिनाकुनै बाधा भोवाइफाईबाट मोबाइल नेटवर्कमा स्वतः स्विच हुने यो प्रविधिको एक मुख्य विषेशता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकहरुका लागि धेरै फाइदा पुर्याउने कम्पनीले जनाएको छ ।
भोवाइफाई सेवाका साथ ग्राहकहरूलाई मोबाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरूमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाइफाई सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना रहेको एनसेलले जनाएको छ ।
यसले अझ बढी उपभोक्ताहरूलाई सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाइफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ ।
भोवाइफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरि एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यस पश्चात ग्राहकले कुनैपनि भरपर्दो वाइफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सक्छन् ।
सेवा एक्टिभेट गर्नुअघि, ग्राहकहरूले भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ् दुवै आफ्नो मोबाइलमा सक्रिय अर्थात स्विच अन गरेको हुनुपदर्छ । त्यसका लागि सेटिङमा गएर, मोबाइल नेटवर्कभित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाइफाई, वाइफाई कलिङ वा सोही अनुसार छानेर सक्रिय गर्नु पर्दछ ।
यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाइफाई वा वाइफाई कलिङ देखेमा सो मोबाइलमा भोवाइफाई सेवा चल्ने बुझिन्छ । सेटिङमा भोवाइफाई, वाइफाई कलिङ सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको एनसेलले जनाएको छ ।