
बुधबार मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौं महानगरपालिका-११ मा पर्ने बबरमहल क्षेत्र जलमग्न भयो । बुधबार दिउँसो पाइप फुटेपछि त्यस क्षेत्रमा रहेको विशेष अदालतलगायतका सरकारी कार्यालयहरू बाढी पसेर जलमग्न बने ।
खानेपानीको पाइप फुटेपछि त्यस क्षेत्रको खानेपानी वितरण प्रणाली बन्द गरियो । रातिदेखि थालेको मर्मत कार्य बिहीबार दिउँसो सकिएको छ । करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।
काठमाडौंका ठूला पानी ट्यांकीमा सप्लाइ गर्ने प्रयोजनका निम्ति बिछ्याइएको १४ सय एमएमको पाइप बुधबार बबरमहल क्षेत्रमा फुटेपछि लाखौँ लिटर पानी बाहिर सडकमा निस्किएको थियो ।
घरभित्र पानी पसेपछि स्थानीयले आफ्नो सामान माथिल्लो तलामा सार्न बाध्य भए । त्यस्तै, उक्त पानी भल बनेर काठमाडौं जिल्ला अदालत र विशेष अदालत परिसरमा छिरेपछि काठमाडौं जिल्ला अदालतका चार वटा इजलास अनिश्चितकालका लागि स्थगित गरिएको छ । कार्यालय परिसरमा पानी भरिएर न्यायिक कार्यसम्पादन प्रभावित भएको अदालतले जनाएको छ ।

मेलम्चीको पानी आपूर्ति गर्ने पाइप फुटेर तमासा निम्तिएको यो पहिलो र आखिरी घटना होइन । अव्यवस्थित संरचना निर्माण, विद्युत प्राधिकरण लगायत अन्य निकायसँगको समन्वय अभाव, पानीको प्रेसर व्यवस्थापनमा लापरवाहीजस्ता घटना यसअघि पनि दोहोरिएका थिए ।
सम्बद्ध निकायका अधिकारीहरूले यस्ता घटना फेरि पनि हुन सक्ने जोखिम कायमै रहेको लोकान्तरलाई बताएका छन् । कुनै बेला काठमाडौंबासीको सपना बनेको मेलम्ची अहिले ऐठन बन्न थालेको छ ।
कहाँ कस्ता दुर्घटना भए ?
गएको असार १९ गते सोह्रखुट्टे–बालाजु सडकखण्डमा मेलम्चीको पानी वितरणका लागि जमिनमुनि गाडिएको पाइप फुट्दा पठाओ चालक मोटरसाइकलसहित डुबेका थिए ।
बिहान करिब ६ बजे काठमाडौं महानगरपालिकाको-१६ वडास्थित नयाँबजारमा कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा पठाओ चालक विकास शाक्यको बा ५० प ३८२ नम्बरको मोटरसाइकल समेत डुबेको थियो ।
मोटरसाइकल खाल्डोमा खसेर डुबेका चालक शाक्यको सकुशल उद्धार गरिएको थियो । त्यतिबेला त्यहाँ ११ फिट गहिरो खाल्डो बनेको थियो ।
यस्तै, गत भदौ २९ गते ललितपुरको कुपण्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा मुख्य सडक नै भासिएर भ्वाङ पर्यो ।
साइकल लेनका लागि रंग्याइएको कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिनुमा मेलम्ची खानेपानी आयोजनाकै गल्ती रहेको तथ्य फेला पर्यो । पानीको पाइप फुट्दा सडक भासिएर पानीको भल बगेको थियो ।

२०७९ मंसिर ७ गते मेलम्ची खानेपानी आयोजनाले बिनासूचना र तयारीबिनै पानी वितरण गर्दा पाइपको गास (जोइन्ट) फुटेर लैनचौर क्षेत्र जलमग्न भएको थियो ।
त्यसअघि २०७६ को जेठमा पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा खानेपानीका पाइप फुटेका थिए ।
मेलम्ची खानेपानी आयोजनाका कारण भएका यस्ता दुर्घटनाको सूची लामो छ । स्रोतका अनुसार अहिलेसम्म काठमाडौं उपत्यकामा एक सय भन्दा बढी ठाउँमा पानी लिकेज भइरहेका छन् ।
मेलम्चीको पानी ल्याएर सडक पखाल्ने काठमाडौंको सपना दशकौंको हो । तर, अहिले काठमाडौंबासीलाई त्यही मेलम्चीले उठीबास लगाउनेसम्मका घटना घट्न थालेका छन् ।
२०७६ सालमा पानी परीक्षणका क्रममा एकैपटक धेरै ठाउँमा पाइप फुटेको देखेपछि एसियाली विकास बैंकले अर्थ मन्त्रालयलाई पत्र लेख्दै सम्बन्धित सबै निकायलाई बोलाएर छलफल र समन्वय गराउन भनेको थियो ।
तर, अहिलेसम्म अन्तरनिकाय समन्वय भएको देखिएको छैन । यसबारेमा सम्बन्धित निकायका अधिकारीहरू चुप छन् । मुख्यतः सरकारले पनि यसबारे चासो देखाएको छैन । त्यसैको परिणाम हो, बुधबारको बबरमहल दुर्घटना ।
के भन्छन् सम्बन्धित निकायका अधिकारीहरू ?
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका सूचना अधिकारी ईन्जिनियर चन्द्र कुमार श्रेष्ठले अन्तरनिकाय समन्वय नभएका कारण मेलम्चीको पाइप बारम्बार फुट्ने गरेको बताए ।
लोकान्तरसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘विद्युत प्राधिकरण र त्यस्तै अन्य निकायले काम गर्दा पर्याप्त ध्यान नपुर्याएकोले यस्तो समस्या देखिएको हो । त्यसबाहेक पानीको प्रेसर म्यानेजमेन्टलाई व्यवस्थित नगर्दा वा व्यवस्थापनका क्रममा हुने मानवीय त्रुटीले पनि यस्ता घटना देखिएका छन् ।’
उनले संरचना निर्माण गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गर्दा आफूहरूले नक्सा र त्यसको सम्पूर्ण डिटेल दिइसकेको दाबी गरे ।
‘हाम्रो काम संरचना निर्माण गर्ने मात्र हो, निर्माणपछि हामीले केयूकेएललाई हस्तान्तरण गरिसकेका छौं । हस्तान्तरणका क्रममा नक्सा र अन्य सबै डिटेलहरू उपलब्ध गराइसकेका छौं । सम्पन्न भइसकेको संरचनाको व्यवस्थापन गर्ने जिम्मा केयूकेएलकै हो’, ईन्जिनियर श्रेष्ठले भने ।
अहिलेसम्म चक्रपथभित्र १ हजार १० किलोमिटर पाइपलाइन बिछ्याइसकिएको उनको भनाइ छ । ‘बालुवाटार र स्वयम्भूमा निर्माण अन्तिम चरणमा छ’, श्रेष्ठले भने, ‘बबरमहलमा विष्फोट भएको जस्तो ठूलो पाइप ७७ किलोमिटर छ ।’
उनले यस्तो जोखिम सधैंभरि हुन सक्ने बताए । ‘पाइप फुट्ने जोखिम त सधैंभरि नै हुन्छ, मुख्य कुरा जोखिमलाई न्यूनीकरण गर्न कस्तो कदम चालिन्छ भन्ने हो’, उनले भने, ‘पाइपको गुणस्तर राम्रो भएन भन्न मिल्दैन । एसियाली विकास बैंक नै इन्भल्भ भएको प्रोजेक्ट हो, सबै काम अन्तर्राष्ट्रिय गुणस्तरकै हिसाबले भएको छ ।’

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछाने यसमा समितिको कुनै भूमिका नरहने बताउँछन् । उनले लोकान्तरसँग भने, ‘समितिको काम सुन्दरीजलबाट पानी प्रशोधन गरेर काठमाडौं पठाउने मात्र हो । त्यहाँको व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालय र केयूकेएलले गर्नुपर्छ ।’
विद्युत प्राधिकरणले स्वीकार्यो गल्ती, मर्मत गर्दै ठेकेदार
जलमग्न भएको बबरमहल क्षेत्रको अनुगमनमा बुधबार साँझपख खानेपानीमन्त्री प्रदीप यादवसँगै केयूकेएलका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेल पुगेका थिए ।
मन्त्री यादवले स्थानीयसँग विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा सावधानी नअपनाउँदा यस्तो घटना भएको बताएका थिए ।
लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै केयूकेएलका सीईओ पौडेलले पनि भनेका थिए, ‘विद्युत प्राधिकरणले तार भूमिगत गर्ने क्रममा ड्रिल गर्दै जाँदा उक्त पाइपमा अड्क्यो, अनि त्यसलाई निकाल्न लाग्दा पाइपमा प्वाल परेको देखिएको छ ।’
प्राधिकरणमाथि लागेको आरोपबारे हामीले निमित्त कार्यकारी निर्देशक तुलाराम गिरीलाई प्राधिकरणले गल्ती गरेको हो ? भनेर सोधेका थियौं ।
उनले बबरमहलको घटनामा प्राधिकरणले गल्ती गरेको स्वीकारे । ‘हामीले तार भूमिगत गर्ने क्रममा पाइपमा छोइएको रहेछ, गिरीले भने, ‘यो सामान्य असावधनी हो । हामीले त्यहाँ काम गरेको ठेकेदारलाई तत्काल पाइप मर्मत गर्न भन्यौं । उहाँहरूले ममर्त सम्पन्न गरिसकेको जानकारी समेत गराइसक्नुभएको छ ।’
यसबाहेक अन्यत्र पनि यस्तो जोखिम आउन नदिन अन्तरनिकाय समन्वयमा पनि जोड दिइएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक गिरीले बताए ।
‘काम त हामीले पनि गर्नुपर्यो, हामीलाई उहाँहरूले उपयुक्त तथ्यांक, नक्सा उपलब्ध गराउन भनेका छौं । काम गर्ने क्रममा यस्ता गल्ती अन्त पनि हुन सक्छन् । तर, त्यसलाई न्यूनीकरण गर्ने विषयमा हामी सचेत छौं’, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक गिरीले भने ।