२७ असार २०८३, शनिबार

१०० विघामा विषादी नियन्त्रित तरकारी फलाउँदै फ्रेस केटीएम

फागुन १, २०८१
काठमाडौं
१०० विघामा विषादी नियन्त्रित तरकारी फलाउँदै फ्रेस केटीएम

फ्रेस केटीएम फार्मिङले रौतहटमा विषादी नियन्त्रित तरकारी र फलफूल खेति गरिरहेको छ । रौतहटस्थित १०० विघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको डाइरेक्टर शिव न्यौपानेले बताए । 

उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेस केटीएमले काठमाडौंको रातोपुल, ललितपुरको झम्सिखेल र भैंसेपाटीमा रहेको फ्रेस केटीएम आउटलेटबाट दैनिक रूपमा उपलब्ध गराउँदै आएको छ ।

फ्रेस केटीएम फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको न्यौपानेले बताए । न्यौपानेका अनुसार अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीका साथै गहुँ, तोरी र दाल उत्पादन गरिन्छ । जसले उपभोक्ताहरूलाई स्वस्थकर खानामा पहुँच पुर्‍याउन मद्दत गरेको न्यौपाने बताउँछन्  ।

स्वस्थ उत्पादनका लागि आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्मजीवहरू उत्पादन गरी सामान्यतया खर्चिलो मानिने यो खेती पद्दतीलाई कसरी कम लागतमा गर्न सकिन्छ भन्ने अनुसन्धान पनि फार्ममा शुरू गरेको न्यौपानेको भनाइ छ । ‘जिरो वेस्टको इकोसिस्टम बनाउँदै आएको फ्रेस केटीएम फार्ममा एक सयभन्दा बढी रोजगार पाएका छन्’, न्यौपानेले भने, ‘जसमा फार्ममा आवश्यक पर्ने खाद्यान्नलगायत पनि फार्मभित्र नै तयार गर्ने गरेका छौँ ।’

कृषिमा लागतको समस्या प्रमुख रूपमा रहँदै आएकोमा फ्रेस केटीएम फार्ममा रहेका २५० भन्दा बढी भैंसीहरूको गोबर तथा जैविक स्रोतहरूको उपयोग गरेर आफैंले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्मजीवहरू उत्पादन गरिरहेको छ । यसले माटोको उर्वराशक्ति बढाउने मात्र होइन, रसायनको अत्यधिक प्रयोगलाई हटाएर स्वस्थ उत्पादनलाई सुनिश्चित गर्छ । जसले लागत घटाउन पनि ठूलो योगदान गरेको छ ।

फ्रेस केटीएम फार्मिङले उत्पादन गरेका भाण्टा, गाजर, बोडी, खुर्सानी, टमाटर, काउली, बन्दा, करेला, तोरीको साग, काँक्रो, गहुँ, तोरीको तेल र विभिन्न प्रकारका दालहरू फ्रेस केटीएमका रातोपुल, झम्सिखेल र भैंसेपाटीस्थित आउटलेटमा दैनिक रूपमा उपलब्ध हुने न्यौपानेले बताए ।

विषादी नियन्त्रित उत्पादनको वृद्धि र उपभोक्ताको मागलाई सम्बोधन गर्दै फ्रेस केटीएमले अब काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आफ्ना आउटलेट विस्तार गर्ने जनाएको छ । नयाँ स्थानहरूमा फ्रेस केटीएम आउटलेट खोल्ने तयारी अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए । 

रासायनिक मलको प्रयोग न्यून, जैविक मलको प्रयोग तथा वनस्पति विषादीको प्रयोग र अति आवश्यक अवस्थामा रासायनिक विषादीको प्रयोग गरेको तरकारीलाई तुरून्तै नटिपी मापदण्ड अनुसार टिप्ने गरिएको बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्