
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत व्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीसँग आज भएको भेटमा अध्यक्ष प्रचण्डले त्रिदेशीय विद्युत व्यापार सम्झौता कोशेढुंगा भएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत व्यापारको सहमति गरेका थिए । ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’ उनले भने, 'हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’
भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावट विद्युत बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने उनले बताए । तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी उनको आरोप छ ।
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत विकासमा अध्यक्ष प्रचण्डको योगदान महत्वपूर्ण रहेको औल्याए ।