
उज्ज्वल खड्काले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनअन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
राजनीतिक पूर्वाग्रहभन्दा बाहिर रहेर विद्यार्थीका मुद्दामा केन्द्रित रहेर काम गर्ने उद्देश्यका साथ उम्मेदवारी दिन लागेको खड्काले बताए ।
खड्का विद्यार्थीका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका नेताको रूपमा परिचित छन्।
क्याम्पसमा देखिएका प्रशासनिक अव्यवस्था, शैक्षिक गुणस्तरको कमी र भौतिक पूर्वाधारको अभावजस्ता विषयमा उनले आवाज उठाउँदै आएका छन्।
उनी राजनीतिक दबाबको विरोध गर्दै स्वतन्त्र विद्यार्थी आन्दोलनमा सक्रिय रहँदै आएका छन्। त्रिविमा सुधारबिना नेपालको उच्च-शिक्षामा सुधार सम्भव छैन भन्ने उनको धारणा छ ।
त्रिविमा देखिएका शैक्षिक समस्या समाधानका लागि व्यावहारिक समाधानको खाका तयार पारेको बताउँदै भने, 'अबको केही दिनमा योजना र कार्यक्रमसहित प्रस्तुत हुने जानकारी गराउन चाहन्छु।'
राजनीतिशास्त्र केन्द्रीय विभागका खड्का वैचारिक रूपमा स्पष्ट र नेतृत्व क्षमतामा अब्बल व्यक्तित्वको रूपमा चिनिन्छन् । 'राजनीतिक पूर्वाग्रहका कारण विद्यार्थीहरूको भविष्यमा असर परेको छ,' उनी भन्छन्, 'अब दलगत राजनीतिलाई शिक्षण संस्थामा प्रवेश हुन दिनुहुन्न।'