
मुग्लिन–नारायणगढ सडकखण्डको २ किलो भन्ने स्थानमा बुलेट बाइक दुर्घटना भएको छ।
बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको बुलेट बाइक मुग्लिन-नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा दुर्घटनामा परेको छ। दुर्घटनामा परेका चालक त्रिशूली नदीमा खसेर बेपत्ता भएका छन्।
चितवन जिल्ला प्रहरी कार्यालयका डीएसपी ज्ञानकुमार महतोले लोकान्तरलाई जानकारी दिएअनुसार दुर्घटना बिहान ११:५५ बजे भएको हो।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक त्रिशूली नदीमा खसेका प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस– ३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नाम उल्लेख भएका कागजात भेटिएको छ ।
घटनापछि प्रहरीले खोजीकार्य शुरू गरेको उनले जानकारी दिए ।