१७ असार २०८३, बुधबार

९९ वर्षमा पुन: आँखाको ज्योति फर्किएपछि...

फागुन ३, २०८१
पर्वत
९९ वर्षमा पुन: आँखाको ज्योति फर्किएपछि...

पर्वतको कुश्मा –४ की ९९ वर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन । दुई वर्षदेखि पूर्णरूपमा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित भएकी हुन् । 

उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरूपमा दुवै आँखाको दृष्टि गुमाएकी थिइन् ।  उनले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाएकी हुन् । 

'सात–आठ वर्ष अगाडिदेखि आँखाले  धुमिल देख्न थालेको थियो ।  दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएँ  । मलाई बिहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ,' उनले भनिन् ।  उनको छोरा छोरी कोही नभएकाले हेरचाह नातिनीले गरिरहेकी छन् । 

दुई वर्षदेखि पूर्णरूपमा अरूको सहरामा जीवन निर्वाह गरिरहेकी विष्णुमतिले पुनःसंसार देख्न पाएपछि खुसी हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिँदै भनिन्, 'अब यो जुनिमा फेरि संसार देख्न पाउछुजस्तो लागेको थिएन, मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखि मर्छु किजस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरिर कमजोर भए पनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ तपाई सबै भगवानलाई धन्यवाद ।' 

नेपाल नेत्रज्योति सङ्घ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेशन युकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो । 

हिमालय आँखा अस्पतालका बाह्यय कार्यक्रम संयोजक सुवाश नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनौट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो । 

शिविरकै लागि बेलायतबाट नेपाल आएका रेज होप फाउन्डेशनका अध्यक्ष डा विशाल गुरुङले आफ्नो सानो प्रयासले बुबा आमाको जीवनमा खुसी फर्किएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । रासस

salt training

कमेन्ट गर्नुहोस्