
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका ११ जना नेताले महामन्त्री गगन थापा हाबी हुन थालेको भन्दै आपत्ति जनाएका छन् ।
पार्टीले आधिकारिक रूपमा १५ औं महाधिवेशनको तयारी अगाडि बढाएको छैन । तर, महामन्त्री थापाले महाधिवेशन केन्द्रित अभियान अगाडि बढाउँदा पनि किन चुप लागेको भन्दै देउवापक्षीय नेताहरूले उनीमाथि प्रश्न उठाएका हुन् ।
सभापति देउवाको विश्वास जित्दै थापाले आगामी महाधिवेशन केन्द्रित अभियान अगाडि बढाएको आशंका गर्दै देउवा निकटका ११ नेता शुक्रबार बिहान बूढानीलकण्ठ पुगे ।
जसमा उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेताहरू कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा।शशांक कोइराला, डा। प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी साउँद र उमाकान्त चौधरी थिए । यसअघि अप्रत्यक्ष रूपमा शशांकले १३ औं र १४ औं महाधिवेशनमा देउवालाई सघाएका थिए । शुक्रबार औपचारिक रूपमा देउवा समूहमा खुल्दै शशांक पहिलोपटक बूढानीलकण्ठ पुगेका हुन् ।
००००
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्ष २०८०–८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क सुदूरपश्चिम प्रदेशले पाएको छ । सुदूरपश्चिमको ५१ दशमलव छ अङ्क छ ।
त्यसैगरी, कोशीले ५० दशमलव नौ, बागमतीले ४५ दशमलव छ, कर्णालीले ४१ दशमलव छ, गण्डकीले ४० दशमलव आठ र लुम्बिनीले ३५ दशमलव नौ अङ्क प्राप्त गरेको छ । कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेश प्रदेश देखिएको छ, मधेश प्रदेशले ३० अङ्कमात्र पाएको छ ।
००००
काठमाडौंको बबरमहलमा फुटेको पाइप मर्मत गरिएको छ ।
मर्मत सम्पन्न गरी पानी वितरण शुरू गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।
००००
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र कुँवरका कारण बढुवा प्रक्रियामा जाम लागेको छ । उनलाई एक नम्बरमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा गर्न दबाब आएसँगै भदौदेखि सशस्त्रमा बढुवा जाम छ ।
एसएसपी कुँवर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाईं हुन् । ब्याच मिचेरै भएपनि कुँवरलाई डीआईजीमा बढुवा गर्न दबाब आएसँगै अन्य अधिकृतको बढुवा महिनौंदेखि रोकिएको छ । कुँवरलाई भावी महानिरीक्षक (आईजी)मा सुनिश्चित बनाउन चर्को दबाब छ ।
००००
नेपाली कांग्रेसमा २०८४ मा संघीय निर्वाचन स्थानीय तहको निर्वाचन अगाडि गर्नुपर्ने विषय उठेको छ ।
शुक्रबार सभापति देउवाको निवासमा भएको उनीपक्षीय शीर्ष नेताको बैठकमा २०८४ को संसदीय चुनावपछि मात्रै स्थानीय तहको चुनाव गर्ने विषय उठेको हो ।
००००
रराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गरेकी मन्त्रालयले जनाएको छ ।
००००
कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्याँस विष्फोट हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ । माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
००००
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ । नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा अनियमितता भएको भनिए पनि तत्कालीन अध्यक्ष रिता सिंह वैद्यलाई उन्मुक्ति दिएको विषयमा छानबिन सुरु गरिएको आयोगले शुक्रबार जनाएको छ ।