
टोकियो, मंसिर १६ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेशका नेताहरुको भन्दा तराई मधेशका जनताको भावनालाई मुख्य राजनीतिक पार्टीहरुले बुझन् जरुरी रहेको बताएका छन् । उहाँले संविधान संसोधन र स्थानिय तहको निर्वाचन गराउनका लागि द्वन्द नभई विपक्षी दल नेकपा एमालेलाई पनि सँगै लिएर जानुपर्ने बताए ।
जापान भ्रमणमा रहनुभएका वरिष्ठ नेता पौडेलको सम्मानमा गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको कार्यक्रममा बोल्दै स्थानिय जनताको भावना बुझेर सिमाङकनको बिषय टुंगो लगाउनुपर्ने स्पष्ट पारे । उनले भने ‘प्रदेशको सिमाङकन हेरफेर गर्दा पनि र स्थानिय तहको सिमाना तय गर्दा पनि स्थानियको भावनाको कदर गर्नुपर्छ अन्यथा समस्या आउछ ।’
वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयनका लागि संविधान संसोधन आवश्यक रहेको भन्दै सवैले संविधान संसोधनमा सहयोग गनुपर्ने धारणा राखे । संविधान जारी गर्ने बेलामा कांग्रेस एमाले र माओवादीका नेताहरुले संसदको रोष्टममा उभिएर संविधान संसोधनको प्रतिबद्धता जनाएको भन्दै संसोधनका लागि तीनै पार्टी एक ठाँउमा आउन जरुरी रहेको स्पष्ट पारे ।