०६ साउन २०८३, बुधबार

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना पारित, आर्थिक वृद्धिदर ७.१६ प्रतिशत पुर्‍याउने लक्ष्य

फागुन ३, २०८१
बुटवल
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना पारित, आर्थिक वृद्धिदर ७.१६ प्रतिशत पुर्‍याउने लक्ष्य

लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठकमार्फत दोस्रो आवधिक योजना पारित गरेको छ । पारित गरेको योजना प्रदेश विकास परिषद् बैठकमा आएका सुझावहरूलाई समेटेर प्रदेश मन्त्रिपरिषद् बैठकमा पेश गर्नेगरी आवधिक योजनाको मस्यौदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइनेछ ।

आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले दोस्रो आवधिक योजनाले लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ७.१६ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको बताए । 

'समृद्ध लुम्बिनी : खुसी नागरिक’ सोचका साथ अघि बढाइएको दोस्रो आवधिक योजनाले दिगो र समावेशी आर्थिक विकाससहितको सामाजिक न्यायमा आधारित समुन्नत समाजको निर्माणलाई लक्ष्य लिएको छ ।

योजनाले कृषि, उद्योग र पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, सघन अन्तरआवद्धता तथा गुणस्तरीय पूर्वाधार निर्देशित उच्च तथा तीव्र आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य राखेको छ ।

यस्तै व्यावसायिक सीप र प्रविधिमा आधारित उद्यमशीलताको विकासमार्फत उत्पादनशील रोजगारी सिर्जना गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सर्वसुलभ पहुँच सुनिश्चित गरी स्वस्थ र दक्ष मानव पुँजी निर्माण गर्ने, विद्यमान विभेद र असन्तुलन न्यूनीकरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको हो ।

यसैगरी सेवा प्रवाह तथा विकासका आयाममा नवीनतम् अभ्यास, प्रविधिको प्रयोगमार्फत सुशासन, जवाफदेहिताको प्रत्याभूति गर्ने तथा स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्न नीतिगत र संरचनागत सुधार गर्ने उद्देश्य लिएको छ ।

निरपेक्ष गरिबीको दर २४.३५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याउने, प्रतिव्यक्ति आय एक हजार एक सय ५९ अमेरिकी डलरबाट बढाएर एक हजार पाँच सय १४ डलर पुर्‍याउने, जन्मदरको औसत आयु साढे ६९ वर्षबाट बढाएर ७३ वर्ष पुर्‍याउने, मानव विकास सूचकांक ०.५६३ बाट ०.६१० पुर्‍याउने, लैङ्गिक विकास सूचकांक ०.८८६ बाट ०.९०१ पुर्‍याउने, बेरोजगारी दर ८ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा सीमित गर्ने तथा श्रम शक्ति सहभागिता दर ३८.५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने योजना बनाइएको छ । साथै, १५ वर्षमाथिको साक्षरता दरलाई ७८.०८ प्रतिशतबाट बढाएर ९८ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ ।

प्रदेश विकासको खाकाअनुसार योजनाले पाँचवटा मुख्य संवाहकहरूलाई प्राथमिकता दिएको छ । जसमा कृषि, उद्योग र पर्यटन, पूर्वाधार विकास (अन्तरप्रदेश तथा आन्तरिक अन्तरआवद्धता), मानव संसाधन विकास, उद्यमशीलता विकास तथा उत्पादनशील रोजगारी, हरित तथा डिजिटल अर्थतन्त्र तथा सुशासन तथा समावेशी विकास रहेका छन् ।

योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ११ वटा समष्टिगत रणनीति र २२ वटा विषय क्षेत्रगत सूचकमा विभाजन गरी ५०५ वटा नतिजा सूचकहरू तयार गरिएको योजना आयोगका सदस्य डा. सुदन ओलीले जानकारी दिए ।

दोस्रो आवधिक योजनाको कार्यान्वयनका लागि अनुमानित  १४ खर्ब ९९ अर्ब लगानी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । योजनाको अन्त्यसम्ममा लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादन  ११ खर्ब ४९ अर्ब पुग्ने अनुमान गरिएको छ । जसमा निजी क्षेत्रको योगदान करिब ६० प्रतिशत रहनेछ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकलाई सम्बोधन गर्दै आवधिक योजना र आयोजना बैंकलाई योजना छनोटको आधारको रूपमा लिएर कार्यान्वयनमा लैजाने बताए । प्रदेश सरकारले बनाउने योजनाहरू तथ्यांक र प्रमाणमा आधारित हुने समेत उनले स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्