
काठमाडौं, ६ मंसिर — वैज्ञानिकहरूले शताब्दियौंदेखि मानिसमाथि अनुसन्धान गरिरहेका छन् । मानिससँग जोडिएका हरेक गतिविधिमा वैज्ञानिकहरूको दृष्टि पुगेको हुन्छ ।
यस्तै खोज मानव स्वभावमा पनि भएको छ । यो खोजले आश्चर्यजनक तथ्य बाहिर ल्याएको छ । यहाँ हामी मानव स्वभावलाई झन् राम्ररी बुझाउने केही आश्चर्यजनक तथ्यहरू प्रस्तुत गर्दैछौं ।
मानसिक प्रयास
वैज्ञानिकहरूका अनुसार, कुनै पनि मनुष्यले झुटो बोल्नका लागि धेरै मानसिक प्रयास गर्नुपर्छ । त्यसैले गर्दा झुटो बोल्ने मानिसले ससाना वाक्य प्रयोग गर्छ किनकि ठूलाठूला वाक्य बोल्न उसलाई गाह्रो पर्छ ।
निगरानी
कुनै व्यक्तिमाथि निगरानी गरियो भने उसले राम्ररी काम गर्न सक्छ । तर कुनै व्यक्तिको छेउमै आएर उसले गरेको काम हेर्न थालियो भने चाहिँ उसले बढी सचेत भएर काम गर्नै सक्दैन ।
विश्वास
राम्रो झिलिक्क देखिने मानिसलाई हामी सजिलै विश्वास गरिदिन्छौं । उसले झुटो नै बोलिरहेको भएपनि हामी उसमा विश्वास गर्छौं ।
धेरै काम एकैचोटि
साधारणतया सबै व्यक्तिले एकचोटिमा दुईवटा काम गर्न सक्दैनन् । तर कोही मानिस चाहिँ एकैचोटि दुई काम गर्न सक्छन् । उनीहरूलाई मल्टीटास्कर भनिन्छ । तर वास्तवमा त्यस्ता व्यक्तिले पनि एउटा काममा बढी ध्यान दिइरहेका हुन्छन् ।
झुटो
वैज्ञानिकहरूले अनुसन्धान गरेर पत्ता लगाएअनुसार, मोबाइलमा गरिएको ३७ प्रतिशत कुराकानी झुटो हुन्छ । आमनेसामने गरिएका कुरा साँचो हुन्छन् ।
मतदान
मतपत्रमा सबभन्दा माथि नाम भएको उम्मेदवार वा चिह्न भएको दलले जित्ने सम्भावना अरूको भन्दा बढी हुन्छ । मनुष्यमा पहिलो नम्बरतर्फ नै बढी आकर्षित हुने स्वभाव हुन्छ ।
आत्मविश्वास
आत्मविश्वासमा कमी भएका मानिसले अरूलाई तुच्छ ठान्छन् र उनीहरूलाई होच्याउन खोज्छन् । आफ्नो असफलताका लागि उनीहरू अरूलाई जिम्मेवार ठान्छन् ।
कठोरता
तपाईं बस्ने ठाउँले तपाईंको स्वभावलाई नियन्त्रण गर्छ । साह्रो ठाउँमा बस्नुहुन्छ भने तपाईंको स्वभाव कठोर हुन्छ र तपाईंको सम्बन्धमा पनि जटिलता आउँछ ।
फैसला
कतिपय अवसरमा रिस र हतारमा गरिएका निर्णयले तपाईंलाई समस्यामा पारिदिन्छन् । यसले गर्दा तपाईंले पछुताउने स्थिति आइलाग्छ । त्यसैले फैसला लिँदा शान्त हुनुस् ।
ध्यान
एक मानिस १० मिनेटभन्दा बढी कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न सक्दैन । यसका लागि तपाईंले साधना नै गर्नुपर्छ ।
एजेन्सी