३१ जेठ २०८३, आइतबार

गणतन्त्र जनताको बनाउने या बुर्जुवाको भन्ने संघर्ष शुरू भएको छ : प्रचण्ड

फागुन ३, २०८१
विराटनगर
गणतन्त्र जनताको बनाउने या बुर्जुवाको भन्ने संघर्ष शुरू भएको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र जनताको बनाउने या बुर्जुवाको भन्ने संघर्ष शुरू भएको बताएका छन् । 

माओवादीको कोशी प्रदेश समितिको प्रथम प्रदेश परिषद् बैठकलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै प्रचण्डले २०६२ सालमा भएको चुनबाङ बैठकमा पार्टीले गरेको विश्लेषण अनुसार नै अहिले यो संघर्ष शुरू भएको बताए । 

उतिबेला ‘अब नेपाल गणतन्त्रमा जान्छ तर, बुर्जुवाहरूले आफूले चाहेजस्तो बनाउन प्रयास गर्नेछन् र हामी जनताको गणतन्त्र बनाउन प्रयास गर्नेछौं’ भन्ने विश्लेषण दस्तावेजमै आँकलन गरिएको स्मरण गराउँदै प्रचण्डले अहिले मुलुक त्यही ठाउँमा आइपुगेको दाबी गरे । 

कांग्रेस र एमाले यतिबेला भ्रष्ट, दलाल र विचौलियाले चाहेजस्तो गणतन्त्रलाई आफूअनुकूल अघि बढाउन खोजेको, विभिन्न उत्पीडित समुदायले पाएको संविधानबाट अधिकार कटौती गर्न खोजिरहेको उल्लेख गर्दै उनले माओवादीले त्यसविरुद्ध संघर्ष गरिरहेको सुनाए । 

विगतमा संविधान बनाउनैपर्ने बाध्यताले प्रत्यक्ष कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता जनपक्षीय एजेण्डामा सम्झौता गर्न पुगेको उल्लेख गर्दै उनले अब पार्टीले यी एजेण्डालाई पुनः अघि बढाउने संकल्प लिएको बताए । 

बुर्जुवाहरूको संगतका कारण आफ्नो पार्टीमा पनि केही कमीकमजोरी देखिएकाले त्यसलाई सच्याएर फेरि आफ्नै वर्ग र समुदायप्रति फर्कने पछिल्लो केन्द्रीय समिति बैठकले संकल्प लिएको उल्लेख गर्दै उनले यही संकल्पका आधारमा देशव्यापी जनतामा अपील गर्दै पार्टी पुनर्निर्माण र रूपान्तरणको अभियान अघि बढाइने जानकारी दिए । 

फागुन १२ गतेदेखि शुरू हुने हुलाकी मार्गकेन्द्रित तराई मधेश जागरण अभियान र वैशाखमा सञ्चालन हुने मध्यपहाडी लोकमार्गकेन्द्रित पूर्वपश्चिम जागरण अभियानले पूरै देशलाई आफ्नो एजेण्डामा गोलबन्द गर्ने उल्लेख गर्दै उनले सबै नेताहरूलाई अभियानमा केन्द्रित हुन निर्देशन दिए ।

salt training

कमेन्ट गर्नुहोस्