
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनबीच भएको उच्चस्तरीय वार्तामा कृत्रिम बुद्धिमत्ता(एआई) को सुरक्षित, भरपर्दो र विश्वसनीय विकासका लागि 'एआई रोडम्याप' तय गरिएको छ ।
साथै, दुवै देशबीच न्यूक्लियर क्षेत्रमा उन्नत मोड्युलर रियाक्टर (एएमआर) र साना मोड्युलर रियाक्टर (एसएमआर) निर्माण तथा अनुसन्धानमा सहकार्य गर्ने समझदारी भएको छ ।
भारत र फ्रान्सबीचको यो सहकार्य हाल विश्वभरि कृत्रिम बुद्धिमत्ताको विकास, प्रयोग र नियमनबारे चलिरहेको बहससँग जोडिएको छ ।
एआई प्रविधिको तीव्र बिस्तारले विश्वव्यापी सुरक्षा, लोकतन्त्र, अर्थतन्त्र, डेटा सुरक्षालगायतका विषयमा गहिरो प्रभाव पार्ने भएकाले, भारत र फ्रान्स मिलेर 'लोकतान्त्रिकसहितको एआई मापदण्ड' निर्माण गर्नेरोडम्यापमा छलफल गरेका हुन् ।
'एआई रोडम्याप'को प्रमुख उद्देश्य
प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोनबीचको भेटपछि जारी गरिएको संयुक्त घोषणापत्रमा भनिएको छ-'भारत र फ्रान्सले सुरक्षित, पारदर्शी र विश्वसनीय एआई प्रविधि विकास गर्ने, साथै यसका लागि लोकतान्त्रिक मूल्यलाई आधार बनाउनेछन् ।'
घोषणापत्रमा बौद्धिक सम्पत्ति अधिकार र व्यक्तिगत गोपनीयताको संरक्षण गरिने साथै, भ्रामक सूचना तथा गलत जानकारीको प्रसार रोक्न आवश्यक नीतिहरू अपनाइने उल्लेख छ ।
भारत र फ्रान्सले एआईको पारदर्शी तथा निष्पक्ष विकासका लागि नि:शुल्क तथा खुला स्रोत प्रविधि (Open AI resources)लाई विकेन्द्रीकरण गर्ने तथा सीमित देशहरू वा कम्पनीहरूको नियन्त्रणमा नराख्ने सहमति गरेका छन् ।
त्यस्तै नैतिकता तथा सुरक्षा (Ethical & Secure AI Development) लाई ध्यान दिएर एआई प्रविधिको विकासमा नैतिक मूल्य, पारदर्शिता तथा निष्पक्षता सुनिश्चित गर्ने नीति तयार पार्न दुवै देश सहमत भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
त्यस्तै, एआईको दुरुपयोगबाट बालबालिकालाई सुरक्षित राख्न विशेष कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता दुवै देशले जनाएका छन् । यससँगै दुवै देशले व्यावसायिक तथा औद्योगिक सहकार्यका लागि 'ठूलो भाषा मोडेल(LLM) को विकासका लागि संयुक्त अनुसन्धान गर्ने सहमतिसमेत गरेका छन् ।
प्रधानमन्त्री मोदीले पेरिसमा आयोजित 'एआई एक्सन समिट'मा दिएको सम्बोधनमा भने, 'एआई मानव जातिका लागि एक अवसर हो, चुनौती होइन । यदि हामी सही मापदण्ड अपनाउन सक्छौं भने, यो प्रविधिले हाम्रो समाजलाई अझ उन्नत बनाउनेछ ।'
मोदीले एआईको उपयोगलाई सार्वजनिक हितका लागि केन्द्रित गरिनुपर्ने बताए । 'हाम्रो लक्ष्य भनेको एआईलाई सर्वसुलभ बनाउने र यसलाई केवल केही सीमित कम्पनी वा राष्ट्रहरूको नियन्त्रणमा नराख्ने हो,' उनले भने ।
फ्रान्सका राष्ट्रपति म्याक्रोनले पनि एआईलाई विश्वभरि लोकतान्त्रिक मूल्यमान्यता अनुसार अघि बढाउनु पर्नेमा जोड दिएका थिए ।
उनले भने, 'हामी यस्तो एआई विकास गर्नेछौं, जसले पारदर्शी नीति अवलम्बन गर्छ, लोकतान्त्रिक मापदण्डहरूसँग मेल खान्छ र समाजको हितमा कार्य गर्छ ।'
न्यूक्लियर ऊर्जा क्षेत्रमा रणनीतिक सहकार्य
मोदी-म्याक्रोन वार्तामा नागरिक परमाणु ऊर्जा क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो । हाल भारतले आफ्नो 'परमाणु ऊर्जा ऐन' संशोधन गरेपछि विदेशी लगानीकर्तालाई न्यूक्लियर प्रविधिमा सहभागी गराउन सहज भएको छ ।
यसै सन्दर्भमा फ्रान्ससँगको सहकार्यले भारतको न्यूक्लियर ऊर्जा विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
दुवै नेताद्वारा जारी गरिएको संयुक्त घोषणापत्रमा भनिएको छ, 'भारत र फ्रान्सले साना तथा उन्नत मोड्युलर रियाक्टर (SMRs & AMRs) को संयुक्त अनुसन्धान, विकास तथा निर्माणमा सहकार्य गर्नेछन् । साथै, नागरिक न्यूक्लियर ऊर्जा क्षेत्रमा वैज्ञानिक तथा प्राविधिक तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।'
यसबारे कुरा गर्दै भारतीय विदेश सचिव विक्रम मिस्रीले एआईका लागि अत्यधिक विद्युत आवश्यक पर्ने र यसलाई दीगो बनाउने हो भने यो परमाणु ऊर्जाले सञ्चालित हुनुपर्ने बताए ।
इन्डो-प्यासिफिक रणनीति र त्रिकोणीय विकास सहयोग
भारत र फ्रान्सले इन्डो-प्यासिफिक क्षेत्रलाई ध्यानमा राख्दै 'त्रिकोणीय विकास सहयोग' कार्यक्रम अघि बढाउने सहमति गरेका छन् । यस अवधारणाअन्तर्गत तेस्रो देशमा पूर्वाधार विकास परियोजना सञ्चालन गर्न दुवै देशले संयुक्त लगानी गर्ने बताइएको छ ।
विदेश सचिव मिस्रीले भने, 'हाम्रो प्राथमिकता भनेको स्थानीय आवश्यकताअनुसार परियोजना विकास गर्नु हो । हामी कुनै पनि देशमाथि जबरजस्ती लगानी लाद्दैनौं, उनीहरूको आवश्यकताअनुसार सहयोग प्रस्ताव गर्छौं ।'
भारत र फ्रान्सले अष्ट्रेलिया तथा संयुक्त अरब इमिरेट्ससँग त्रिपक्षीय सहकार्यलाई विस्तार गर्नेसमेत समझदारी गरेका छन् ।
यस अन्तर्गत, 'डिजिटल पूर्वाधार, हरित ऊर्जा, शिक्षा तथा स्वास्थ्य' जस्ता क्षेत्रमा संयुक्त परियोजना अघि बढाइनेछ ।
भारत-फ्रान्स रक्षा सहकार्यलाई थप मजबुत बनाउन राफाल लडाकु विमान तथा स्कर्पियन पनडुब्बी निर्माण परियोजनालाई तीव्रता दिने विषयमा छलफल भएको छ ।
साथै, साइबर सुरक्षा, अन्तरिक्ष प्रविधि तथा आपूर्ति शृंखला स्थायित्वमा आपसी सहकार्यलाई प्राथमिकता दिने विषयमा दुवै पक्ष सहमत भएका छन् ।
अमेरिका भ्रमण गर्नुअघि प्रधानमन्त्री मोदीले फ्रान्सको भ्रमण गरेका हुन् । यो भ्रमणले भारत-फ्रान्स रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याएको चर्चा भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् ।
एआई र न्यूक्लियर प्रविधिमा सहकार्यसँगै, रक्षा तथा भूराजनीतिक रणनीति सुदृढ बनाउने भारत र फ्रान्सको पहलले अन्तर्राष्ट्रिय समुदायको ध्यानसमेत आकर्षित गरेको छ ।
भारत-फ्रान्स साझेदारीले एआई र नवप्रवर्तनमा नयाँ दिशा देखाउने- विदेशमन्त्रीएस जयशंकर
फ्रान्सको राजधानी पेरिसमा आयोजित भारत-फ्रान्स सीईओ फोरम को १४औं संस्करणमा बोल्दै भारतीय विदेशमन्त्री एस जयशंकरले भारत-फ्रान्स रणनीतिक साझेदारीको महत्त्वलाई जोड दिएका थिए ।
उनले एआई, रक्षा, स्वच्छ ऊर्जा, पूर्वाधार तथा विश्वव्यापी आपूर्ति शृंखलाको स्थिरता जस्ता क्षेत्रमा दुवै देशको बढ्दो सहकार्यबारे प्रकाश पारे ।
विदेशमन्त्री जयशंकरले भने, ‘भारत र फ्रान्सले एक समावेशी एआई र नवप्रवर्तन साझेदारीको खाका तयार पार्दैछन् । यो साझेदारीले विश्वव्यापी मापदण्ड निर्माण गर्न, डिजिटल पूर्वाधारलाई विस्तार गर्न र प्रविधिको लोकतान्त्रिक उपयोग सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’
उनले विशेष गरी एआई प्रविधिको नैतिक विकास तथा यसको सुरक्षा सुनिश्चित गर्ने विषयमा भारत र फ्रान्सबीचको सहकार्यलाई अपरिहार्य बताए ।
‘एआई प्रविधि हाम्रो शासन प्रणाली, अर्थतन्त्र, सुरक्षा र समाजलाई गहिरो रूपमा प्रभावित गर्दैछ । यस्तो अवस्थामा भारत र फ्रान्सजस्ता रणनीतिक साझेदारहरूबीचको सहकार्य झनै महत्त्वपूर्ण बनेको छ,’ उनले थपे ।
भारत र फ्रान्सबीचको सहयोग कुनै पनि एक देशको स्वार्थका लागि नभई साझा विकास र प्रविधिको समतामूलक उपयोगका लागि भएको उनले प्रस्ट्याए ।
उनले भने, 'भारतसँग विश्वकै सबैभन्दा ठूलो एआई प्रतिभा पूल छ, जसलाई सही दिशामा अघि बढाउन नीति निर्माण अपरिहार्य छ ।’ उनले भारत-फ्रान्स साझेदारीलाई प्रविधि क्षेत्रको नयाँ क्रान्तिको सुरुवातको रूपमा चित्रित गरे ।